Logo

प्रधानमन्त्री देउवाले प्रदेश नं २ का चुनावी सभालाई सम्बोधन गर्नुहुने



ललितपुर, २५ भदौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरण अन्तरगत असोज २ गते निर्वाचन हुने आठवटै जिल्लाका चुनावी सभाहरुलाई सम्बोधन गर्नुहुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा भदौ २७ गते २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ ।

कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ । सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि उहाँ सिरहा प्रस्थान गर्ने कार्यक्रम छ । उहाँले सोही दिन सिरहाको जिरोमाइलमा आयोजना हुने चुनावी प्रचार सभालाई अपरान्ह ४ बजे सम्बोधन गर्नुहुनेछ ।

सिरहाको संबोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्नुहुनेछ । भदौ २७ गते राती पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाको मुकाम जनकपुरमा नै रहनेछ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले भदौ २८ गते बिहान रामजानकी मन्दीरको दर्शन गर्नुको साथै कार्यकर्ताहरुसंग भेट गर्नुहुनेछ । उहाँले दिउसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

जनकपुरको संबोधन पछि कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सोही दिन अपरान्ह महोत्तरीको बर्दिवास प्रस्थान गर्नुहुनेछ । उहाँले त्यहा आयोजना हुने चुनावी सभालाई संबोधन गर्नुहुनेछ । २८ गते प्रधानमन्त्रीको रात्री मुकाम निर्धारित भैसकेको छैन । उहाँको मुकाम महोत्तरीको बर्दिबास वा सर्लाही वा रौटहतको गौर वा चन्द्रनिगाहपुर कहिं पनि हुनसक्ने संभावना छ ।

भदौ २९ गते पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नुहुनेछ र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

भदौ ३० गते बिहान प्रधानमन्त्रीले पर्साका कार्यकर्ताहरुसंग भेटघाट गर्नुहुनेछ । उहाँले दिउसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई संबोधन गर्नुहुनेछ ।

कलैयाको संबोधन पछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री देउवा सोही दिन काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्