Logo

नेताहरु दिनभरि भाषणमा व्यस्त, रात परेपछि चुनाव जित्न ‘मनी एण्ड मसल’ को योजना बुन्दै



काठमाडौं, २८ भदौ । २ नम्बर प्रदेशको निर्वाचन आउन जम्मा पाँच दिन मात्रै बाँकी छ । भोट हाल्ने दिन जति नजिकिँदैछ, त्यति नै प्रमुख दलका शीर्ष नेताहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

प्रमुख दल नेपाली कांग्रेसका शीर्ष नेतृत्व नै चुनावी अभियान लिएर मधेश झरिसकेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवादेखि लिएर अन्य शीर्ष नेताहरु यतिवेला मधेशमा चुनावी आमसभा गर्दै हिँडिरहेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त झनै तराई मधेशमा अड्डा जमाएर बसेका छन् । उनले मधेशसँग आफ्नो लभ परेको भन्दै यहाँको विकासको लागि आफ्नो पार्टीजति अरु कुनै पार्टीले पनि केही नगर्ने सार्वजनिक घोषणा नै गरेका छन् । उनले यो पटकको निर्वाचनमा कांग्रेससँग खासै तालमेल पनि गरेका छैनन् । हुन त उनले कांग्रेस नेतृत्वको कारण तालमेल सफल हुन नसकेको भनेर पत्रकार ऋषि धमलासँगको अन्र्तवार्तामा स्पष्ट पारिसकेका छन् । दाहालले पनि मधेशमा अन्य पार्टीका प्रभावशाली नेताहरुलाई आफ्नो पार्टीमा धमाधम भित्र्याईरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अझैसम्म पनि मधेश झर्न सकेका छैनन् । बरु, उनी यतिवेला काठमाडौंमै केन्द्रित भएर अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा भित्र्याउन व्यस्त छन् । उनी कहिले मधेश झर्ने हुन भनेर धेरैको ध्यानाकार्षण भएको छ । चासोको विषय त के हो भने ओलीलाई मधेशी जनताले मधेश विरोधी भनेर आरोप लगाउँदै आएका छन्, तर ओलीले यो आरोपलाई ठाडै अस्विकार गरिसकेका छन् ।

यस पटकको निर्वाचनमा प्रमुख दलका नेताहरुले आम मतदाताहरुमा प्रचार–प्रसारमात्रै गरिरहेका छन् । प्रमुख दलका शीर्ष नेताहरु अहिले जसरी आमसभामा जुटिरहेका छन्, यो त फकत् खाली जनमत देखाएको मात्रै । उनीहरुको भित्री योजना भनेको त रातपरेपछि अर्थात बास बस्ने बेला भेला भएर भित्री रुपमा चुनाव जित्नको लागि ‘बन्द कोठामा’ मनी र मसलको योजना बन्दैमा वित्ने गरेको छ । उनीहरुले चुनाव जित्नको लागि सबै किसिमको खासगरी साम, दाम, दण्ड र भेद अख्तियारी गर्ने नेताहरुको रणनीति छ ।

बेलुका भएपछि शीर्ष नेताहरु भेला हुने अनि कहाँ कति पैसा खर्चिँदा चुनाव जित्न सकिन्छ भनेर तानाबुना बुन्नमा व्यस्त रहेको बुझिएको छ। यो गाउँमा हाम्रो यो कमजोरी छ, भोजभतेर, विकास घोषणा गर्नेदेखि एकमुष्ट पैसा बाँड्दा हुन्छ कि भनेर उनीहरुले गरिरहेका छन् ।

सत्तारुढ दलका नेताहरुले साखः जोगाउनको लागि मनी एण्ड मसल प्रयोग गरेर भएपनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने तानाबुना बुनिरहेका छन् । उनीहरुको एकमात्रै विश्वास वा एक किसिमको ढुक्क के छ भने,‘चुनाव जिताउनको लागि चाहिने सबै खाले साधान र स्रोत अहिले छ, तर चुनाव जित्नुपर्यो, अहिले पैसाको कुनै अभाव छैन भन्ने नै हो।’

रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने,‘के गर्नु, हामीसँग जनमत छ, तर पैसा छैन, चुनाव त जित्न त जितिन्थ्यो नि, कांग्रेस र एमालेले यति पैसा खर्च गरेका छन्, उनीहरुसँग जनमत छैन नि, तर चुनाव जित्नको लागि पैसाको खोलो नै बगाएका छन्।’

उता राजपाका महासचिव मनिष सुमन पनि पत्रकार ऋषि धमलासँगको कुराकानीमा भन्दै थिए,‘अहिले मधेशमा पैसा खर्च गर्ने कांग्रेस र माओवाद केन्द्र नै हुन्, उनीहरुले सत्ताको आडमा पैसा ठूलो राशीमा खर्च गरिरहेका छन्।’ सुमनले एमालेले पनि भित्री रुपमा पैसा खर्चिरहेको आरोप लगाए । उनका अनुसार एनजिओ, आईएनजिओको आडमा एमालेले अहले चुनाव लडिरहेको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अहिले कडा प्रतिष्पर्धा त कांग्रेस र एमालेवीच नै हुने अनुमान गरिएको छ । तर दुई पार्टीहरुवीचको कडा टक्करको फाईदा आफ्नो पार्टीले उठाउनेगरि माओवादी पार्टीका अध्यक्ष प्रचण्डको योजना रहेको छ।

मधेशमा एमालेलाई कुनैपनि हालतमा जनताले भोट नदिने कांग्रेस नेता विमलेन्द्र निधिले दाबी गर्दै आएका छन् । उनले चुनावी हरेक सभामा बोल्दै आएका छन्,‘एमाले मधेश विरोधी पार्टी हो, उसलाई मधेशमा टाउको उठाउन दिनुहुँदैन्।’

हालै जनकपुरमा भएको प्रेस सम्मेलनमा बोल्दै उनले भनेका छन्,‘एमालेलाई शीर उठाउन नदिने हाम्रो योजना छ।’

मधेशमा अहिले राप्रपा र नेपाल लोकतान्त्रिक फोरमको भने त्यति चर्चा तथा प्रभाव देखिएको छैन । राप्रपाको एजेण्डा नै लगभग शुन्य भएको मधेशी जनताहरुले बताउँदै आएका छन् । यद्धपी सिरहाको लहान नगरपालिकामा भने राप्रपाका मेयरका उम्मेद्धवारको भने केही हदसम्म राम्रो प्रभाव देखिएको छ।

यता फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेद्धवार विमल श्रीवास्तवको भने केही चर्चा देखिएको छ । उनी विरगन्जका प्रभावशाली नेता हुन् । उनको लोकप्रियता देखिएकोले फोरम लोकतान्त्रिकको पनि मधेशमा केही प्रभाव अझै देखिएको छ ।

राप्रपाबाट भर्खरै फुटेर राप्रपा प्रजातान्त्रिक बनेको छ । राप्रपा प्रजातान्त्रिकबाट पनि चिट्ठा नै परेर केही नेताहरु मन्त्री बनेका छन् । उनीहरुलाई यो चुनावको कुनै मतलव छैन ।



प्रतिक्रिया दिनुहोस्