Logo

निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै प्रचण्डले सिरहामा यसरी बाँडे विजुलीको खम्बा



कारबाही गर्न सांसद महतोको माँग 

काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलासा भएको छ ।

निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गरिसकेको छ तर सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले आफ्नो ठाडो आदेशमा निर्वाचन आचारसंहिता विपरित सिरहाको क्षेत्र नम्बर ५ स्थित् कर्जन्हा नगरपालिकाको थला–गौतारी वडा नम्बर १० मा विजुलीको पोल खसालेका छन् ।

निर्वाचन आचारसंहित २०७२ को प्रावधानविपरीत उनले यही असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मतदाताहरुको मत तान्ने उद्देश्यले विजुलीको पोल पठाउन विद्युत कार्यालय मिर्चैयाका प्रमुख शिबराम यादवलाई निर्देशन दिएका थिए । प्रचण्डले राज्यशक्तिको दूरुपयोग गर्दै चुनावको मुखमा यसरी आचारसंहिताको धज्जी उडाएको भन्दै स्थानीय अन्य दलका नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका छन् ।

उनीहरुले जिल्लास्थित् सम्बन्धित सबै सरोकारवाला निकायका प्रमुखहरुको समेत ध्यानाकार्षण गराएको संघीय समाजवादी फोरम नेपालका जिल्ला कमिटि सदस्य एवम् युवा नेता केशव प्रसाद साहले जानकारी दिए ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता नेपाल सरकार, नेपाल सरकारका मन्त्री, स्थानीय तह, सार्वजनिक पद धारण गरेको व्यक्ति लगायतमा लागू हुनेछ । तर सरकारकै एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्षले यसरी शक्तिको दुरुपयोग गरेको देख्दा आफू आश्चर्यमा परेको उक्त क्षेत्रका सांसद समेत रहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले बताए ।

उनले उक्त कार्यको विरोधस्वरुप आफूले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई समेत फोनमार्फत ध्यानाकार्षण गराएको जानकारी दिए । डा. महतोले भने,“मैले यसबारेमा निर्वाचन प्रमुख आयुक्त डा. यादवजीसँग पनि कुरा राखेको छु, उहाँले बुझेर छानबिन गर्ने र स्पष्टीकरण लिने वचन दिनुभएको छ।”

प्रचण्डले हिजो सिरहाको मिर्चैयामा भएको चुनावी सभालाई सम्बोधन गर्न आउँदा विजुलीको पोल पठाउन यादवलाई निर्देशन दिएका थिए ।

आचारसंहिताको परिच्छेद ३ मा नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाका लागि प्रावधान राखिएको छ, जसमा नयाँ कार्यक्रम गर्न नहुने उल्लेख छ । तर मुलुकको पूर्वप्रधानमन्त्रीजस्तो राष्ट्रिय व्यक्तित्वले यसरी आचारसंहिताको ठाडो उल्लंघन गरेको देख्दा आफू आश्चर्यमा परेको महतोको गुनासो छ ।

‘नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्याश गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन,’ दोस्रो बुँदामा उल्लेख छ ।

डा. महतोले आफू उक्त क्षेत्रको सांसद भएको नाताले आफूले दुई महिना पहिल्यै नै काठको विजुली पोल हटाएर सिमेन्टको पोल राख्नको लागि निवेदन दिएको भएपनि कुनै सुनुवाई नभएको तर अहिले आएर चुनावको मुखमा शक्तिको आडमा माओवादी केन्द्रले यसरी निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गलत र घृणित कार्य गरेको भन्दै विद्युत हाकिम यादवलाई कारबाही गर्नुपर्ने माँग गरे ।

 



प्रतिक्रिया दिनुहोस्