Logo

कानूनको अभावमा कुनै निर्वाचन रोकिँदैन कानून मन्त्री थापा



पोखरा, ३० भदौ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा कुनै निर्वाचन नरोकिने बताउनुभएको छ ।

रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको आज लेखनाथमा उद्घाटन गर्दै उहाँले निर्वाचनसम्बन्धी धेरै कानून बनिसकेका र बाँकी रहेका कानून पनि निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

यो वर्ष निर्वाचन र कानून निर्माणको वर्ष भएको उल्लेख गर्दै मन्त्री थापाले तीन तहकै निर्वाचन सम्पन्न भएपछि संविधान पूर्णरुपमा कार्यान्वयन हुने विश्वास दिलाउनुभयो ।

स्थानीय तहका दुई चरणका निर्वाचनमा कसले जित्यो र को हा¥यो भन्ने गौण कुरा हो भन्दै उहाँले दुई दशकदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय तहले जनप्रतिनिधि पाएका छन् अब मुलुकमा आर्थिक समृद्धि र विकासको गति अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।

जल उत्पन्न प्रकोप व्यवस्थापन एकिकृत रुपाताल परियोजनाका इञ्जिनियर छविलाल सुवेदीले रुपातालको बाँध निर्माणका लागि मुआब्जा वितरणको सूचना निस्किसकेको र मुआब्जा वितरणपछि यसको निर्माण शुरु गरिने जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का कास्की जिल्ला अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेसका सचिव सुदिप मोहन भट्टराई, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी लगायतका वक्ताले बोल्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्