Logo

मौन अवधि सुरु हुन केही घण्टामात्रै बाँकी, प्रमुख दलहरु चुनाव जित्ने अन्तिम अस्त्रमा जुट्दै



काठमाडौं, ३० भदौ । २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको लागि अहिले केही घण्टापछि मौन अवधि सुरु हुँदैछ। तर यो वीचमा दलहरुले आफ्नो अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् ।
मौन अवधिमा प्रमुख दलहरुले चुनावी नतिजा आफ्नो पक्षमा पार्नको लागि अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् । कसैले आर्थिक चलखेल गरिरहेका छन् भने कसैले भोजभतेर नै गरिरहेका छन्।

आर्थिक प्रलोभनमा पारेर आफ्नो पक्षमा चुनाव जित्नको लागि जे पनि हत्कण्डा अपनाईरहेका छन् ।

प्रदेश २ का आठ जिल्लाहरुमा प्रमुख दलका शीर्ष नेताहरु चुनावी अभियानमा जुटिरहेका छन् । उनीहरुको प्रमुख उद्देश्य भनेको नै चुनाव जित्नु नै रहेको हो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि आजमात्रै चुनावी सभालाई सम्बोधन गरेर फर्किएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि आजमात्रै चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने तयारीमा छन् । उनले आजमात्रै बारा र महोत्तरीको सभालाई सम्बोधन गरेका हुन् ।

जिल्लाको राजनीतिक र प्रशासनिक कमान्ड गर्ने सदरमुकामका स्थानीय तहमध्ये कुन ठाउँमा को बलियो देखिन्छ ? हामीले विभिन्न सूत्र प्रयोग गरेर खोजी गरेका छौं । पूर्व पश्चिम राजमार्ग र हुलाकीमार्ग दक्षिणका सदरमुकाम क्षेत्रका चुनावी तस्बिर बिल्कुल फरक देखिन्छन् ।

पूर्व पश्चिम राजमार्ग क्षेत्रमा प्रमुख तीन दलको प्रतिस्पर्धा छ भने सदरमुकाममा ठाउँ हेरेर मधेशकेन्द्रित दल मुख्य प्रतिस्पर्धी छन् । तीन प्रमुख दलमध्ये कोही न कोही प्रतिस्पर्धामा छन ।

४८ घन्टे मौनअवधि सुरु हुनु अघि दलहरुले मतदाता आफ्नो पक्षमा तान्ने अन्तिम प्रयास पनि गरेका छन्। निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि ४८ घण्टे मौन अवधि तोकेको छ।

दुई नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुन लागेको निर्वाचनमा प्रमुख तीन दल कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रसहित मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपा नेपालले ६ दल मिलेर एकीकृत पार्टी बनेकाले दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्नेमा शंका नरहेको दाबी गरेको छ भने कांग्रेसको मधेस नै आफ्नो आधारभूमि भएकाले पहिलो दल बन्ने दाबी छ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बनेको एमालेले तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्ने दाबी गरिरहेको छ।

माओवादी केन्द्रले तेस्रो चरणको निर्वाचनमा अघिल्लो पटकको भन्दा परिणाम सुधार गर्ने रणनीतिका साथ मैदान उत्रिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले दुई नम्बर प्रदेशका आठवटै जिल्लामा पुगेर आफ्नो पार्टीका उम्मेदवारका पक्षमा भोट मागे।

मधेस केन्द्रीत ६ दल मिलेर बनेको राजपा नेपालले मधेस र मधेसीका पक्षमा लामो समयदेखि लड्दै आएकाले आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेको छ।



प्रतिक्रिया दिनुहोस्