Logo

आयोगले भन्यो- तयारी पुरा भयो, ढुक्क भएर मत हाल्नुहोस्



काठमाडौं, १ असोज। निर्वाचन आयोगले सोमबार हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।.

आयोगले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर २ अन्तर्गतको १ सय ३६ वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो‍।

काठमाडौंस्थित आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान कार्य सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको समस्त मतदाता, राजनीतिक दल र सरोकारवालाहरुलाई जानकारी गराए।

प्रमुख निर्वाचन आयुक्त यादवले समयमै मतदान केन्द्रमा प्रवेश गर्न पनि आम मतदातालाई आह्वान गरे। निर्वाचन आयोगले सोमबार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ । तोकिएको समय भित्र मतदान गर्न प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरे। उनले योग्य उम्मेदवारलाई निर्वाचित गराउन पनि आम मतदातासँग आग्रह गरे।

निर्वाचन आयोगले मतदानमा जाँदा मतदाता परिचय पत्र लिएर जान पनि सबै मतदातालाई आह्वान गरेको छ । कुनै कारणबस मतदाता परिचय पत्र छुटेमा नागरिकता, २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचय पत्र वा राहदानी, सवारी चालक अनुमति पत्र वा जग्गा धनी प्रमाण पत्र लिएर पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको पनि प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।

सोमबार प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनका लागि आयोगले सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको छ।



प्रतिक्रिया दिनुहोस्