Logo

देश बचाउने हो भने ७ वटै प्रदेश र केन्द्रमा पनि एमालेको सरकार चाहिन्छ : ओली



काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बचाउनको लागि ७ वटै प्रदेशमा र केन्द्रमा पनि एमालेको सरकार गठन हुनुपर्ने बताएका छन् । उनले भने,‘अरुले देश बचाउन सक्दैनन्, यो देश बचाउनको लागि एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ, त्यो पनि केन्द्रमा मात्रै होईन, ७ वटै प्रदेशमा ।’

आईतबार काठमाडौंको प्रज्ञा भवनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको अखिल शुभकामना साँझ–२०७४ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन। उनले भने,‘ईमान समाजको निर्माण अब एमाले नेतृत्वको सरकार भएपछिमात्रै बन्छ।’

उनले भने,‘अब छठ पर्व आउँदैछ, यसको अर्थ हो अब भोकै बसी सुर्यलाई नमस्कार गरि ईच्छा पूरा गर्नु हो।’ ‘चुनावपछि एमालेकै संघीय सरकार बन्छ, ७ ओटै प्रदेशमा पनि एमालेकै सरकार बन्नेमा दुईमत छैन’ ओलीले भने, ‘यो देश बचाउन एमालेलाई पनि बचाउन आवश्यक छ । चाडपर्व आउँदै छ, दूर्गा भवानीले सूर्यमा भोट हाल्ने सद्बुद्धि प्रदान गरुन, दशैको यही शुभकामना छ ।’

त्यस्तै उनले सत्ताको आडमा एमालेलाई तर्साउने काम भएको भन्दै आपत्ति प्रकट समेत गरे । एमालेलाई अवरोध गर्ने प्रयास भएपनि अब कसैले रोक्न नसक्ने समेत उनको उद्धघोष थियो ।

उनले भने, ‘चुनाव र चाडबाड सँगै छ । चाडबाड भनेको सधैं सत्यको पुजा गर्नु हो । मधेसमा कसैले ट्याइट्याई गरेको भएपछि छठ लगत्तै अर्को चुनाव छ । छठ भनेको सूर्यको पूजा गर्ने हो । त्यसपछि पनि सबैले सूर्यको पूजा गर्नेछन् ।’

कार्यक्रममा अखिलको पूर्व इन्चार्जसमेत रहेका ओलीले विश्वकान्त मैनाली, योगेश भट्टराई, टंक कार्की, राजेन्द्र राई, अरुण नेपाल, गोकर्ण, विष्ट भानुभक्त ढकाललाई सम्मान गरेका थिए ।

त्यस्तै ओलीलाई भने अखिलकी अध्यक्ष नबिना लामाले सम्मान गरेकी थिइन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्