Logo

मतदाताहरुलाई आफ्नो पक्षमा पार्न हत्कण्डा अपनाउँन शीर्ष नेताहरु गोप्य बैठकमा व्यस्त, को कहाँ छन् ?



काठमाडौं, १ असोज । निर्वाचन आयोगले प्रदेश नं २ मा भोलि सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेको छ ।

आयोगका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाता मतदानका लागि उत्साह र आतुरताकासाथ प्रतीक्षामा रहेका छन् ।

लोकतन्त्रको आधारशीलाका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले आग्रह पनि गरेको छ ।

भोलि हुने निर्वाचनमा आफ्नो अस्तित्व जोगाउन शीर्ष नेताहरुको अहिले गोप्य बैठक धमाधम बसिररहेको छ । आम मतदातालाई आफ्नो पक्षमा पार्न हरके हत्कण्डा अपनाउन प्रमुख दलका शीर्ष नेताहरुले कुनै कसर बाँकी राखेका छैनन् ।

स्रोतका अनुसार एमाले बरिष्ठ नेता माधवकुमार नेपाल रौतहटमा आन्तरिक छलफलमा जुटेका छन् । त्यस्तै बारामा फर्मुल्ला मन्सुर र जितेन्द्र सोनल आन्तरिक छलफलमा जुटेका छन् ।

त्यस्तै २ नम्बर प्रदेशको निर्वाचनमा सबैभन्दा चर्चामा रहेको पर्साको वीरगन्ज महानगरपालिका पनि ठूला दलहरुको लागि प्रतिष्ठाको विषय बनेको छ । जसमा कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेवीच कडा प्रतिष्पर्धा हुँदैछ ।

पर्सामा अहिले प्रभावशाली नेताहरु रमेश रुगाँटा र लक्ष्मणलाल कर्णहरुको छुट्टाछुट्टै भेला भैरहेको छ। काठमाडौंमा रहेका पार्टीका शीर्ष नेताहरुसँग समन्वय गरेर अन्तिम क्षणमा आएर कसरी मतदाताहरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भनेर लागिपरिरहेका छन् ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका लगायत अन्य प्रभावशाली नगरपालिकाहरुमा आफ्नो पक्षमा मतदाताहरुलाई आकर्षणमा ल्याउनको लागि पूर्वमन्त्री एवम् एमाले नेता रघुवीर महासेठ र कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री विमलेन्द्र निधिवीच कडा टक्कर भैरहेको छ। उनीहरु पनि आ–आफ्नो पार्टीका उम्मेद्धवारलाई विजयी बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।

त्यस्तै राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरपनि अहिले आन्तरिक छलफलमा जुटेको खबर आएको छ। त्यस्तै अर्का अध्यक्ष मण्डलका सदस्य अनिल झा पनि रौतहटमा छन् । उनी पनि मतदाताहरुलाई आफ्नो पक्षमा पार्न हदैसम्मको तयारीमा जुटेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य रामबहादुर थपाा बादलको नेतृत्वमा मन्त्री प्रभु साहको टोली पनि रौतहटमा विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।

यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मतदाताहरुलाई आफ्नो पक्षमा पार्नको लागि अन्तिम रणनीतिमा जुटेका छन् । यादव अहिले पार्टीकी नेतृ रेणु यादवको सप्तरीस्थित् घरमा भोट कसरी तान्ने भन्नेबारेमा आन्तरिक रणनीति बुन्न व्यस्त छन् ।

राजपा नेपालका सांसद र उम्मेदवारसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार गरेकोमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण र सो दलका जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेवार धुरन्दर साहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

उहाँहरुले १५० नेता कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्