Logo

सिरहामा ६५ प्रतिशत मतदान



लहान, २ असोज स्थानीय तह निर्वाचनअन्तर्गत २ नं प्रदेशको सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ ।

जिल्लामा सत्र स्थानीय तह छन् । केही ठाउँमा खसेको मतको विवरण आउन अझै बाँकी रहेकाले मत प्रतिशत केही बढ्ने सक्ने मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार सबैभन्दा बढी भगवानपुर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय गैरसा मतदान केन्द्रमा ८३ दशमलव ५५ प्रतिशत मत खसेको छ ।

सबै मतदानस्थलको मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि दलीय प्रतिनिधिसँगको छलफलपछि आजै रातिदेखि मतगणना सुरु गरिने बताइएको छ ।

२८३ सवारी साधन नियन्त्रित

प्रहरीले जिल्ला निर्वाचन कार्यालयसँग अनुमति नलिई मतदानका समयमा चलाएका २८३ सवारी साधन नियन्त्रण लिएको छ । त्यस्तै फर्जी मत खसाल्न खोज्ने १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । आठ नगरपालिका र नौ गाउँपालिका रहेको सिरहामा २२१ मतदानस्थल र ४३१ मतदान केन्द्र निर्धारण गरिएको थियो । सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता थिए ।

धनुषामा ७५ प्रतिशत मतदान:

धनुषा–जिल्लाका अठार वटै स्थानीय तहमा ७५ प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिनुभयो । तीन लाख ८९ हजार ३९१ मतदाता रहेकामा दुई लाख ९० हजारभन्दा बढी मतदाताले मतदान गरेका थिए ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गर्ने काम भइरहेको छ । सम्बन्धित स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याइएपछि दलीय सहमति जुटाएर मंगलबार बिहानदेखि मतगणना शुरु गरिने बताइएको छ ।

महोत्तरीमा ७२ प्रतिशत मतदान:

बर्दिवास– महोत्तरी जिल्लामा ७२ प्रतिशत मतदान भएको छ । मतदानमा तीन लाख आठ हजार ४०४ मतदातामध्ये ७२ प्रतिशतले मताधिकार प्रयोग गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा २५८ मतदानस्थल थिए । यसअघि जिल्लाका २५८ मध्ये २३२ मतदानस्थल संवेदनशील भएका आँकलन गरिए पनि सबै ठाउँमा शान्तिपूर्ण मतदान भएको प्रजिअ बाबुराम श्रेष्ठले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्