Logo

सडक दुर्घटना न्यून गर्न एकीकृत योजना आवश्यक : राष्ट्रपति भण्डारी



काठमाडौँ, ४ असोज। राष्ट्रपति विद्यादेवी भण्डारीले सडक दुर्घटनामा अमूल्य मानवीय जीवन क्षति हुन नदिन सरकारले एकीकृत योजना ल्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालयले यहाँ आज आयोजना गरेको ‘सडक दुर्घटना तथा मानवीय क्षतिका कारण र न्यूनीकरण’ विषयको सरोकार भएका निकायसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सडक दुर्घटनाका विषयमा काम गर्ने विभिन्न निकायले समन्वयात्मक रुपमा जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“दुर्घटना न्यून गर्न सवारीसाधन प्राविधिकरुपमा ठीक हुनुपर्छ, चालक सवारी चलाउन निपूण हुनुपर्छ, सवारी चलाउने बेलामा अन्यत्र ध्यान दिनु हुन्न”– राष्ट्रपति भण्डारीले भन्नुभयो । उपत्यकाको सडक क्षमता थाहा हुँदाहुँदै बढी सवारी भित्रिँदा सडक सुरक्षामा चुनौती थपिएको उहाँको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक दुर्घटना बढ्दा नेपालका प्रविधिज्ञको विज्ञतामै प्रश्न चिह्न उठेको बताउनुभयो । “राजनीतिज्ञले सबै विषय जाने झैँ गर्नुहुन्न, विज्ञको क्षमता बुझ्नुपर्छ, नजानेको विषय बुझे झैँ गरेर काम गराउँदा विकास निर्माणका काममा गल्ती भएको छ”–उहाँले भन्नुभयो ।

सडक मर्मतका लागि उठेको रु २० अर्बमध्ये अर्थ मन्त्रालयले रु चार अर्बमात्र दिएका कारण काम गर्न अप्ठ्यारो भएको मन्त्री बलायरको गुनासो थियो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल, यातायात व्यवस्था विभागका निर्देशक डा पद्मबहादुर शाही, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, सडक विभागका नरेशमान शाक्य, अनुसन्धानकर्ता पुष्पराज पन्त, वातावरणविद् भूषण तुलाधर, उपप्राध्यापक भगवती सेढाईं लगायतका वक्ताले नेपालमा सडक दुर्घटना बढ्दै गएकाप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

विश्वमा वार्षिक साढे १२ लाख मानिसको सडक दुर्घटनाका कारण निधन हुने गरेको छ । पाँच करोड मानिस घाइते हुने गरेका छन् । दुर्घटनामा २५ देखि २९ वर्ष उमेर समूहका मानिस बढी मर्ने गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरियो ।

नेपालमा सरदर वार्षिक २०० जनाको सडक दुर्घटनामा निधन हुने गरेको छ । विसं २०६४ देखि हालसम्म सडक दुर्घटनाकै कारण एक हजार ४९४ जनाको मृत्यु भएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्