Logo

बुढीगण्डकीमा व्यापक अनियमितता भएको छ, राष्ट्रिय स्वाभिमान बेचिएको छ, यसलाई अगाडि बढाउन सकिँदैन् : सभापति डोर प्रसाद उपाध्याय



काठमाडौं, ६ असोज । सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बुढीगण्डकी जलबिद्युत आयोजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति उपाध्यायले उक्त परियोजनाबारे तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले हतार–हतार गरेर सम्झौता गरेको गुनासो पोखे ।

उनले भने,‘बुढीगण्डकी जलविद्युत आयोजना बेचिएको छ, त्यहाँ आयोजना मात्रै होइन हाम्रो स्वाभिमान पनि बेचिएको हो, स्वाभिमान बेच्ने अधिकार कसैलाई छैन, मेरो कद होचो छ की अग्लो भनेर नहेर्नाेस, म स्वाभिमानसँग सम्झौता गर्दिन, यो परियोजना कुनैपनि हालतमा अघि बढ्न सक्दैन्, गेजुवाको नेपालमा अहिलेसम्म राम्रो पर्फेमेन्स छैन, त्यसैले यो परियोजनाबारे पूर्नविचार गर्नुपर्छ र नयाँ प्रक्रियामा जानुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हतार–हतारमा सम्झौता गर्नुको कारण के थियो ? यसरी मन्त्री पद नै नभएको बेला हस्ताक्षर किन गरियो ? यसमा ठूलो चलखेल भएको छ, हस्ताक्षर पत्रमा एकातिर चीनीयाँ कम्पनीको पक्षबाट गरिएको छ भने अर्कोतर्फ नेपालबाट व्यक्तिको नाममा हस्ताक्षर गरिएको छ, एउटा व्यक्तिलाई राज्यले कसरी लिने ?

सभापति उपाध्यायले कम्पनी कस्तो हो त्यसको बारेमा थाहा र एकिन जानकारी नै नराखी हतारमा सम्झौता गर्नु गलत रहेको भन्दै थपे,‘ब्ल्याक लिष्टमा परेको कम्पनीसँग यसरी सम्झौता गर्नु नै गलत थियो, राष्ट्रिय हित विपरित भएको छ, प्रक्रिया र नियत नै बदयिनतपूर्ण छ।’ स्वदेशी पुँजीलाई प्रोत्साहन गरेर परियोजना बनाउनुपर्ने र अन्र्तराष्ट्रिय पुँजी भित्र्याउनको लागि ग्लोबल टेण्डर आह्वान गर्नुपर्ने सामान्य प्रक्रियालाई समेत तत्कालिन मन्त्रीले मिचेको उनको आरोप थियो ।

सभापति उपाध्यायले चार दिनभित्र (असोज ८ गते) चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता, मन्त्रिपरिषदले गरेको अनुमोदन, हालसम्म भएका प्रयास लगायतका सम्पुर्ण विवरण पेश गर्न पनि निर्देशन समितिले दिईसकेको जानकारी दिए । त्यस्तै समितिले अर्काे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बयान लिने निर्णय गरेको उनले बताए । ‘बुढीगण्डकी जलविद्युत आयोजनाबारे हालसम्म भएका सहमति र सम्झौताहरुबारे अब अर्काे बैठकमा सम्माननिय प्रधानमन्त्रीसँग छलफल गर्छाै’, सभापति उपाध्यायले जानकारी दिए ।

उपाध्यायले बुढीगण्डकी जलबिद्युत आयोजना सरकारले चिनियाँ कम्पनीलाई बिक्री गरेको आरोप लगाए । उनले चाईना गेजुवालाई कम्पनीलाई परियोजना बिक्री गरिएको दाबी गरे । उनले परियोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिनु बिषयगत र प्रक्रियागत रुपमा गलत भएको बताए । वर्तमान संसदको कार्यकाल छोटो रहेको भन्दै उनले बुढीगण्डकी जलबिद्युत आयोजनाबारेमा यही समितिले छानविन गर्ने र एउटा निर्णयमा पुग्ने विश्वास दिलाए ।

उनले आफ्नै पार्टीका नेता तत्कालिन मन्त्री भएको उल्लेख गर्दै भने,‘पार्टी सेकेण्डरी कुरा हो, पार्टी त भोलि नरहन पनि सक्छ नि, तर मलाई विश्वास छ मेरो पार्टीले मलाई भ्रष्टाचार र अनियमितता रोक्नको लागि पूर्ण सहयोग गर्छ, किनकी पार्टीको मुल उद्देश्य पनि यही हो।’ लेखा समितिले पछिल्लो समय बुढीण्डकी, नेपाल आयल निगम, भैरहवा विमानस्थल, साझा प्रकाशनबारे छानबिन गरिरहेको उनको भनाई थियो । पछिल्लो समय नेपालमा राजनीतिक निर्देशित र सरकार संरक्षित भ्रष्टाचार मौलाएको उनको दाबी थियो ।

उनले तत्कालिन उर्जामन्त्री शर्माले नेपालको पानी, जनताको लगानी भनेर नारा दिएको उल्लेख गर्दै भने,‘बुढीगण्डकीको हकमा के उहाँको भनाई सुल्टो भयो त? भएन नि ?’

 



प्रतिक्रिया दिनुहोस्