Logo

खानेपानीको मुहान संरक्षणमा स्थानीयवासी



पाल्पा, १० असोज । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–२, जल्पाका प्रत्येक खानेपानीका मुहान संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन् ।

खानेपानीको समस्या बढ्न थालेपछि यस वर्ष समयमा नै स्थानीयवासीले खानेपानीका मुहान तथा टंकी सरसफाइ तथा संरक्षण थालेका छन् ।

वडा कार्यालयको पहलमा स्थानीय बासिन्दा तथा खानेपानी उपभोक्ता समितिको सक्रियतामा खानेपानीका मुहान तथा टंकी सरसफाइ गर्ने काम भएको हो । लामो समयदेखि खानेपानीका मुहान तथा टंकी सरसफाइ हुन नसक्दा स्थानीय बासिन्दा फोहर पानी पिउन बाध्य भएका थिए ।

वडाका प्रत्येक मुहान र टंकी सफा गरेपछि यहाँका स्थानीय बासिन्दाले शुद्ध खानेपानी पिउन पाउने वडाध्यक्ष निरबहादुर सारुले बताउनुभयो । वडाका ३७ खानेपानीका मुहान र ७५ वटा खानेपानी टंकी सफा गरिएको वडाध्यक्ष सारुले जानकारी दिनुभयो ।

पूर्वखोला गाउँपालिका–२, जल्पाका मुढेखर्क, तल्लोझेरुदी, ढोलीमारा, साठ्ठीकोल, मैदान, माथिल्लोझेरुदी, वापान, बर्मु, राक्से र छाब्दीलगायतका स्थानका खानेपानीका मुहान सफा गरिएपछि स्थानीय बासिन्दा खुशी छन् ।

वडाका ५११ घरघुरीले उपभोग गर्ने खानेपानी वषौँदेखि मुहान तथा टंकी सरसफाइ हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । (रासस)
–––



प्रतिक्रिया दिनुहोस्