Logo

स्वदेश फर्किएपछि देउवाले के–के गर्दैछन् ?



काठमाडौं, ११ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि स्वदेश फर्किँदैछन् । संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्न उनी संयुक्त राज्य अमेरिका गएका थिए । उनी ओमन हुँदै नेपाल आउने पूर्वनिर्धारित कार्यक्रम अनुसार नै यतिवेला ओमानको मस्कटमा छन् ।

देउवा हिजौ मस्कट आईपुगेका थिए । देउवा नेतृत्वको नेपाली डेलिगेशनलाई ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालको पहलामा ओमानका ११ जना मन्त्रीहरुको टोलीले भव्य स्वागत गरेको थियो । त्यस्तै प्रधानमन्त्रीको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना गरेको थियो ।

यता प्रधानमन्त्री देउवा फर्केपछि उनले गर्ने कामका फेहरिस्त नै तयार भएको छ । देउवा निकट उच्च स्रोतका अनुसार उनी स्वदेश फर्किएलगत्तै सुरुमा उनले २ नम्बर प्रदेशको चुनावी परिणामलाई लिएर पार्टीभित्र आन्तरिक समिक्षा गर्ने भएका छन् । पार्टीका शीर्ष नेताहरुले समेत तत्काल समिक्षात्मक बैठक डाक्नुपर्ने माँग गरिरहेको बेला देउवाले पहिलो काम चुनावको समिक्षा गर्ने बुझिएको छ ।

त्यस्तै उनले अहिले चाडपर्वको मुखमा आन्दोलनरत चिकित्सकहरुको माँग समेत सम्बोधन गर्नको लागि एउटा नयाँ समझदारी कायम गर्ने बुझिएको छ ।
त्यस्तै आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभको निर्वाचनको लागि टिकट वितरणबारे छलफल चलाउने उनको योजना रहेको छ । यस्तै उनले हाल देखिएको पार्टीभित्रको आन्तरिक कलहको व्यवस्थापन गर्ने समेत योजना बुनेका छन् ।

निर्वाचन आयोगसँग सहमति लिएर महत्वपूर्ण विकास निर्माणका आयोजनाहरु घोषणा गर्ने र त्यसको लागि पूरक बजेट ल्याउने उनको अर्को महत्वपूर्ण योजना छ । उनले यी सबै काम यही हप्ताभित्रै तयारी थालेर निश्कर्षमा पुग्ने योजना बुनेको देउवा निकट उच्च स्रोतले दाबी गरेको छ ।
त्यस्तै उनले केन्द्रिय संसदको निर्वाचनलाई केन्द्रित रहेर अहिलेदेखि नै प्रमुख दलहरुवीच चुनावी गठबन्धन बनाउनेसम्म योजना बुनेका छन् ।यसको लागि उनले पार्टीका प्रभावशाली नेताहरु क्रमशः विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, बालकृष्ण खाँड लगायतका नेताहरुसँग दैनिक परामर्श लिईरहेका छन् ।

नेता खाँडका अनुसार कांग्रेसले अब आउने निर्वाचनमा मधेशमा राजपा र संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन र सोही दिन राष्ट्र संघ महासचिव एन्टिोनियो गुटेरससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए।

महासभाका दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग भेटवार्ता गरेका थिए।

प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल असोज १२ गते भोलि स्वदेश फर्कनेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्