Logo

एमालेबाहेकका परिवर्तनकारी शक्तिसँगमात्रै तालमेल गर्छौं : डा. महत



काठमाडौं, १६ असोज । प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाहेकका परिवर्तन एवम् संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिहरुसँग चुनावमा तालमेल गर्ने बताएका हुन् । उनले भने,‘हुन त कांग्रेस आफ्नै बलमा निर्वाचन लड्छ, तर राष्ट्रिय मुद्दामा समान दृष्टिकोण राख्ने र स्थानीय तहको आवश्यकत्ता अनुसार हामी चुनावी गठबन्धन बनाउँछौं, तर एमालेसँग अहिले तालमेल हुँदैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेले समुदायवीच फाटो ल्याउने र राष्ट्रिय एकतामा विभाजन ल्याउने काम गरेको समेत आरोप लगाए । उनले थपे,‘एमालेले समूह समूहवीच विभाजन ल्याउने काम गर्यो, संविधान संशोधनप्रति उसको दृष्टिकोण नै अर्को रह्यो, त्यसैले तत्कालिन अवस्थामा एमालेसँग सहकार्यको कुनै संभावना छैन।’ यद्धपी उनले एमालेसँग स्वस्थ प्रतिष्पर्धा हुने विश्वास दिलाए ।

नेता महतले एमालेले अहिले कायम रहेको कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धन तोड्ने प्रयास गरेपनि त्यो संभव नरहेको जिकिर गरे । उनले भने,‘माओवादीले हामीसँगको गठबन्धन तोड्ला भनेर हामीले अपेक्षा गरेकै छैन, हामीवीचको समझदारी तोड्न खोज्नेहरु नै असफल हुन्छन्।’ उनले एमालेले तत्कालिन फाईदाको लागि मात्रै हेर्ने गरेको र त्यही स्वार्थ अनुसार नै रणनीति अपनाईरहेको आरोप लगाए ।

त्यस्तै उनले तोकिएकै समयभित्र पार्टीले उम्मेद्धवारको टुँगो लगाउने विश्वास दिलाए । उनले भने,‘१७ गतेभित्र जिल्लाबाट नाम आउनुपर्छ, आएन भने पार्टीले कडा एक्सन लिन्छ।’ महतले भोलि वा पर्सी नै केन्द्रिय समितिको बैठक बसेर संसदीय बोर्ड गठन गर्ने समेत जनाए ।
एमालेले हिजो गरेको तालमेलसम्बन्धीको निर्णयबारे प्रतिक्रिया दिँदै महतले भने,‘अब उहाँहरुले राष्ट्रभक्तीसँग तालमेल गर्ने अरे, यो देशमा हामीभन्दा बढि राष्ट्रभक्ति र राष्ट्रवादी उहाँहरु ?, म त भन्छु हामीभन्दा ठूलो राष्ट्रवादी अरु कोही छैन्।’

 



प्रतिक्रिया दिनुहोस्