Logo

माओवादी केन्द्रमा बहस : कांग्रेस रोज्ने कि एमाले ?



काठमाडौं, १६ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन पार्टीसँग तालमेल गर्ने भन्नेबारे अहिलेदेखि नै बहस सुरु भएको छ ।

सोमबार पार्टी हेडक्वार्टर पेरिस डाँडामा बसेको पार्टी सचिवालयको बैठकमा शीर्ष नेताहरुवीच मत बाझिएको छ । बैठकमा एकथरि नेताहरु वामपन्थी एक भएर जाने भन्ने पक्षमा छन् भने अर्कोथरि नेताहरु कांग्रेससँग पछि लागेर जाने भन्नेमा छन् ।

तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने यसबारे अहिले मौन देखिएका छन् । उनी जो सँग तालमेल गर्दा पार्टीलाई फाईदा हुन्छ त्यही दलसँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा छन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अध्यक्षजीले त जे गर्दा पार्टीलाई फाईदा हुन्छ त्यही गरेर जानुपर्छ भन्नुभएको छ, उहाँले अहिल्यै नै यो पार्टी वा त्यो पार्टी भन्नुभएको छैन्।’

पार्टीभित्र अहिले नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्ने, टोपबहादुर, रायमाझी, पम्फा भुसाल एमलोसँग तालमेल गरेर जानुपर्छ भन्ने पक्षमा छन् । उनीहरु अब कांग्रेससँगको सहकार्यले पार्टीलाई हित नगर्ने जनाएका छन् ।

तर उता नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन अहिले कांग्रेससँगै रहनुपर्छ र यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्ने निश्कर्षमा पुगेका छन् । उनीहरुले जसरीपनि यो गठबन्धनलाई कायम राखेर जानुपर्नेमा जोड दिएका छन् । यी दुई समूहको आ–आफ्नै रणनीति छ ।

त्यस्तै नेताहरु अमिक शेरचन र लिलामणि पोखरेलपनि अहिले एमालेसँग तालमेल गर्नै हुन्न भन्ने पक्षमा दृढ भएर उभिएका छन् । हालका गृहमन्त्री जनार्दन शर्मा बीचमा छन् । उनी दुई महिनाको लागि किन सरकार छोड्ने भन्ने पक्षमा छन् ।

तर उनी कांग्रेसभित्रै विवाद भएकोले तालमेल धेरै लामो हुँदैन भन्ने पक्षमा छन् ।  यता पत्रकार ऋषि धमलासँगको कुराकानीमा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पनि एमालेसँगको सहकार्य हुन सक्ने संभाव्यता औंल्याएका छन् । उनले त्यसको लागि अहिले नै निर्णय नभएपनि यसबारेमा केही निर्णय हुन सक्ने संकेत गरे ।



प्रतिक्रिया दिनुहोस्