Logo

निर्वाचनपछि एमाले र माओवादीवीच पार्टी एकता, ओली प्रधानमन्त्री प्रचण्ड अध्यक्ष बन्ने



एमाले र माओवादीवीच ६० र ४० को भागबण्डा

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी तालमेलको लागि हिजो गरेको आधिकारिक प्रस्तावको भोलिपल्टै आज माओवादी केन्द्रले पनि एमालेसँगको सहकार्यको लागि जोड दिएको छ।

त्यतिमात्रै होईन, माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी समेत गरेको छ । सो पार्टीको सोमवार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्नेबारेमा छलफल भएको एक नेताले जानकारी दिए ।

त्यस्तै बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल गर्नेबारेमा छलफल भएको थियो । मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि ६० र ४० को भागबण्डा समेत गरेको छ । बैठकमा एमाले सहितका बाम पार्टीहरुबीच एकता तथा सम्भावित तालमेलकाबारेमा छलफल भएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई एकताको लागि छलफल गर्ने जिम्मा दिएको नेता चक्रपासाण खनालले जानकारी दिए ।

एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नै गर्ने निश्कर्षमा पुगेको हो । यसका लागि मंगलबार नै एमालेसँग तीन नेताले छलफल गर्ने पनि माओवादी स्रोतले बतायो ।

एमालेको निर्णय लगत्तै भएको माओवादी केन्द्रको यो निर्णय दुई पार्टीबीच तत्कालै पार्टी एकता नभए पनि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र सहकार्य गर्ने देखिएको छ । एमाले र माओवादी केन्द्र यो निर्णयले गैरबामदलहरुलाई एक्ल्याउने स्पष्ट संकेत देखा परेको छ ।

त्यस्तै अहिले नै निर्वाचन अघि सरकार भने परिवर्तन नगर्ने माओवादीको निर्णय रहेको छ । एक नेताले भने,“वाम एकतासँगै चुनावमा होमिएपनि अहिले नै कांग्रेससँगको सहकार्य भने टुट्दैन्, हामी निर्वाचनपछिमात्रै सहकार्य टुट्छ।”

त्यस्तै एमाले र माओवादी केन्द्रवीच बृहत्त मोर्चाबन्दी गर्ने र त्यसको लागि मंसिरपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउने र माओवादी केन्द्रका अध्यक्षलाई एकतापछिको अध्यक्ष बनाउने तयारी भएको स्रोतको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्