Logo

देउवा र ओलीसँग छुट्टाछुट्टै भेटवार्तामा व्यस्त प्रचण्ड, जता सम्झौता उतै सहमति गर्ने



काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला चौतर्फी दबाबमा परेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पार्टी एकता गर्नेबारे हिजोमात्रै गरेको निर्णयसँगै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि उनलाई फोन गरेर आफूहरुसँगको वर्तमान गठबन्धन नतोड्नको लागि आग्रह गरेका छन् । त्यसकोलागि देउवाले माओवादीसँग ६० र ४० को भागबण्डाको प्रस्ताव समेत गरेका छन् ।

देउवाको उक्त प्रस्तावसँगै अध्यक्ष प्रचण्ड भने यतिवेला द्धिविधामा परेका छन् । उनले आजमात्रै एमालेसँग ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिसकेका छन् । तर यही विचमा उनलाई पार्टीभित्रबाट समेत तत्काल एमालेसँग् पार्टी एकता नगर्न ठूलो दबाब आएकोले उनी द्धिविधामा देखिएका छन् । त्यसको लागि उनले दुवै पार्टीसँग बार्गेनिङ् गरिरहेको स्रोतको दाबी छ ।

हुन त एमाले र माओवादी दुई बामपन्थी दल नेकपा एमाले र माओवादी बीच चुनावी सहकार्य र पार्टी एकताको खाका निर्माण गर्न आज दिनभर वार्ता हुने भएको छ । एमाले स्थायी समितिले चुनावी सहकार्य र पार्टी एकताका लागि आव्हान गरेको भोलिपल्टै सोमबार बसेको माओवादी सचिवालयको बैठकले एमालेसँग सहकार्य र एकता गर्ने निर्णय लिएपछि दुवै दलको उच्चस्तरीय कार्यदलको बैठक मंगलवार बस्न लागेको हो ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम रहनेछन भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहने माओवादी नेता हरिबोल गजुरेलले पत्रकार ऋषि धमलालाई जानकारी दिएका थिए । सोमबार बसेको माओवादी सचिवालय बैठकले आगामी चुनावमा एमालेसँग तालमेल गर्न र पार्टी एकतासम्मको निर्णय गर्ने अधिकार सहित दाहाल, श्रेष्ठ र थापालाई जिम्मेवारी दिएको थियो ।

दुवै दलबीच आगामी चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने मोटामोटी सहमति भइसकेकाले त्यस विषयमा निर्वाचन आयोगसँग समेत परामर्श लिने तयारी भएको गजुरलेको भनाई थियो । उनका अनुसार एमाले र माओवादी बीच अन्य बाम दललाई पनि सहकार्यमा ल्याउने विषयमा समझदारी भएको छ ।

विभिन्न ७ वटा विषयमा समझदारी पत्र बनाएर बुधवार र बिहीवारसम्म निश्कर्षमा पुग्ने तयारी एमाले र माओवादीका उच्चस्तरीय नेताले गरेका छन् ।
एमाले र माओवादीबीच कम्तीमा आगामी चुनावमा चुनावी गठबन्धन बनाउने र अधिकताम रुपमा पार्टी एकता गर्ने, सहकार्यमा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम लगायतका दललाई समेत समेट्ने प्रारम्भिक खाका उनीहरुले बनाएका छन् ।

तर स्रोतका अनुसार प्रचण्डले बाबुराम र उपेन्द्रलाई पनि सहमति गराएर ल्याउने दाबी गरेकोले आज नै सम्झौता पत्रकमा हस्ताक्षर हुने संभावना अत्यन्तै कम रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्