Logo

एमाले र माओवादी मिल्नु खुशीको कुरा, जनताले कांग्रेसलाई प्रिय पार्टी बनाउँछन् : खतिवडा



काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिष्टहरु मिल्नुको अत्यन्तै स्वागतयोग्य कुरा भएको भन्दै प्रशंसा गरेका छन् । उनले भने,‘उहाँहरु मिल्नु त खुशीको कुरा हो, यसमा हामी स्वागत नै गर्छौं।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कांग्रेसपनि अब विचार मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘हामीसँग मुद्दा मिल्ने शक्तिहरुसँग एकताबद्ध भएर अघि बढ्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता खतिवडाले वामपन्थीहरुको एकता आफूहरुले यसअघिका ०५४, ०६४ र ०७० को चुनावमा देखेको भन्दै कांग्रेस यसबाट नआँत्तिने स्पष्ट पारे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आँत्तिएर माओवादीलाई ६० र ४० को भागबण्डाको प्रस्ताव गरेको समेत उनको आरोप थियो ।

उनले मुलुक अहिले कांग्रेसको सिद्धान्तको नेतृत्वमा रहेकोले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको, कांग्रेसकै नेतृत्वमा २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अहिले संविधान कार्यान्वयनको चरण रहेकोले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि जनताले आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने विश्वास दिलाए । उनले भने,‘ढुक्क हुनुहोस्, फेरि पनि जनताले कांग्रेसलाई प्रिय पार्टी बनाउनुहुनेछ।’

त्यस्तै उनले चुनावअघि शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन नहुने समेत स्पष्ट पारे । खतिवडाले भने,‘आज विहानमात्रै प्रधानमन्त्री र प्रचण्डजीवीच एक घण्टा छलफल भएको छ, यही सरकारले चुनाव गराउने सहमति भएकोछ।’



प्रतिक्रिया दिनुहोस्