Logo

‘माओवादीले सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको छ, कि त राजीनामा देउ होईन भने हटाईन्छ’ : डा. खड्का



एमाले–माओवादी केन्द्रलाई काउन्टर दिनको लागि हाम्रो गठबन्धन हो 
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिनको लागि नै आफूहरुले बृहत्त लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. खड्काले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमा नलिएको बताउँदै यो राजनीतिक विकासक्रममा टुट्फुट र जुट भैरहने स्पष्ट पारेका हुन् । उनले भने,‘राजनीतिक धु्रवीकरणको विषयलाई यसरी उछाल्नु जरुरी छैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेको समेत बताए ।

उनले थपे,‘बास्तवमा मलाई प्रचण्डजीप्रति दया लागेको छ, हुन त उहाँले यो वर्षको दशैंमा (सायद २२ वर्षपछि) होला टिका लगाएर साईत हेरेर माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमत्कार नै गर्नुभयो।’ जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराएर जानु नै हो भन्ने उनको दाबी थियो ।

एमालेका शीर्ष नेताहरुले समेत आफ्नो पार्टी नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो र माओवादी पनि यसमै समाहित भएको भनेर सार्वजनिक अभिव्यक्ति समेत दिएको कुरा उल्लेख गर्दै नेता खड्काले भने,‘हिजोमात्रै एमाले नेता माधव नेपालको अभिव्यक्ति म सुन्दैथिएँ, उहाँले माओवादीलाई होच्याएर बोल्नुभएको छ।’ ०४८ सालदेखि लोकतन्त्रको रैथाने बन्दै आएको एमालेसँग प्रचण्डले पार्टी एकता गर्नुले उनको जुझारु क्रान्तिकारीतामाथि नै प्रश्न उठेको उनको भनाई थियो ।

नेता खड्काले एमाले–माओवादी केन्द्रवीचको चुनावी सहकार्य र एकता प्रयासलाई राँके भुतको संज्ञा समेत दिए । उनले थपे,‘मेरो विचारमा यो गठबन्धन लामो समय जाँदैन, चुनाव आउँदैछ, हेर्दैजानुहोला टिकट वितरणमा सबै देखिहालिन्छ।’

यद्धपी उनले वाम गठबन्धन र तीन पार्टीवीचको एकता प्रयासबाट अहिल्यै नै अत्तालिहाल्नुपर्ने अवस्था भने नरहेको जिकिर गरे । खड्काले भने,‘हुन त हामीले वाम गठबन्धनको काउन्टरमा बृहत्त लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरिसकेका छौं।’ खड्काले यो लोकतान्त्रिक गठबन्धनभित्र केही चूनौतिहरु भने अवश्य रहेको स्विकार गरे । उनले भने,‘लोकतान्त्रिक उम्मेद्धवारहरुले जित्नुपर्यो।’

यद्धपी उनले कांग्रेस लगायत अन्य पाँच दलहरुवीच बनेको लोकतान्त्रिक गठबन्धन चुनावी एलायन्स मात्रै भएको स्पष्ट पारे । उनले थपे,‘मुलुकमा हुन सक्ने अधिनायवादी खतराबाट बचाउनको लागि र बाहृय शक्तिको प्रभावलाई समेत सन्तुलित बनाउनको लागि यो गठबन्धन बनाएका छौं।’

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फुर्के नेताको संज्ञा समेत दिए । उनले भने,‘उहाँ फुर्के नेता हुन्, अहिले उनमा त्यही देखियो।’

नेता खड्काले तोकिएकै मितिमा निर्वाचन हुने समेत विश्वास दिलाए । उनले भने,‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, यसमा कुनै तलमाथि हुँदैन्।’ माओवादी केन्द्रका मन्त्रीहरुलाई गलहत्याएर जाउ भन्ने पक्षमा आफूहरु नभएको समेत उनको भनाई थियो । यद्धपी उनले सत्तामा आफूहरुसँग बस्ने र प्रमुख प्रतिपक्षी दलसँग एकता गरेकोले माओवादीले सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको टिप्पणी गरे । उनले भने,‘कि त उनीहरुले राजिनामा दिनुपर्छ, होईन भने हटाईन्छ।’

तर उनले माओवादी केन्द्रका साथीहरु सरकारमा बसिरहनु चाहीँ गलत भएको बताए । उनले एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरु अहिले अंगगणित मिलाउनको लागि रातदिन आन्तरिक बैठकमा सरिक भैरहेको समेत आरोप लगाए ।

 



प्रतिक्रिया दिनुहोस्