Logo

लोकतान्त्रिक गठबन्धन नबनाएको भए ‘पोलिटिकल सुसाईड हुन्थ्यो’ : कार्की



काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रवक्ता रोशन कार्कीले कांग्रेसको नेतृत्वमा गठन हुन लागेको बृहत्त लोकतान्त्रिक मोर्चा वाम मोर्चाको प्रतिकारमा गठन नभएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘हामीले वाम मोर्चाको प्रतिकारमा यो गठबन्धन बनाएका होईनौं, म फेरि पनि दोहोर्याएर भन्छु वाम मोर्चाको रियाक्सशनमा हाम्रो गठबन्धन बनेकै होईन्।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कार्कीले लोकतान्त्रिक गठबन्धन बनाउने कुरा तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग सुर्यबहादुर थापाले लिएर गएको स्मरण गराउँदै तर त्यतिवेला कोइरालाले लोकतान्त्रिक गठबन्धन बन्नेवितिकै काउन्टरमा अर्को गठबन्धन बन्ने खतरा देखेर नबनाएको स्पष्ट पारिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भनिन्,‘तर आज आएर त्यो उद्देश्य पूरा भएको छ, हामी लोकतान्त्रिक शक्तिहरु एकजुट भएका छौं, यो कसकैको विरुद्धमा होईन, मुलुकलाई स्थायित्व र आर्थिक समृद्धितर्फ डोर्याउनको लागि हो।’

उनले लोकतान्त्रिक मोर्चा बनाउने विषय सबै नेताहरुको दिमागमा भएको भएपनि हिजो आएर उक्त विषयमा छलफल प्रारम्भ भएकोले सबै पार्टीका नेताहरु सम्मिलित नेताहरुको कार्यदलले कार्य प्रारम्भ गर्ने समेत विश्वास दिलाईन् । यद्धपी उनले वाम एकता नभएको भए आफूहरुको लोकतान्त्रिक गठबन्धन बन्न समय लाग्नेथियो भन्ने धारणा राखिन् । त्यस्तै वाम गठबन्धनपछि लोकतान्त्रिक गठबन्धन नबनाएको भए ‘पोलिटिकल सुसाईड’ हुने थियो भन्दै चिन्ता व्यक्त गरिन् ।
उनले अबको निर्वाचनपछि लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने र मुलुकलाई निकास दिने समेत स्पष्ट पारिन् ।

 



प्रतिक्रिया दिनुहोस्