Logo

एमाले तेस्रो दल बने आश्चर्य नमानेहुन्छ : साउद



‘लोकतान्त्रिक गठबन्धनमा सिट तालमेलमा कुनै समस्या आउँदैन्’
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका नेता एन.पी. साउदले लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै समस्या नआउने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले यस्तो बताएका हुन् । नेता साउदले कांग्रेसले राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याएर प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि अघि बढ्ने बताए । उनले भने,‘हामी अहिले सबैलाई समेट्ने कोशिस गर्दैछौं ।’ त्यस्तै उनले सबै सहयात्री दलहरुलाई खुल्ला हृदयले सिट संख्याको भागबण्डामा उदार व्यवहार गर्न आफूहरु तयार रहेको विश्वास दिलाए ।

उनले भने,‘अहिलेको राजनीतिक धु्रवीकृत बन्दै गएको छ, वाम गबन्धन बनेसँगै कांग्रेसको नेतृत्वमा समेत बृहत्त लोकतान्त्रिक गठबन्धन बन्दैछ, त्यसैले हामीले वाम गठबन्धनलाई अस्वभाविक रुपमा लिएका छौं, तर हामीलाई यसले केही फरक पर्दैन्।’ उनले आन्तरिक उत्प्रेरणाको आधारमा वाम गठबन्धन बनेको भए केही तरँग नआउने विश्वास गरे ।

उनले एमाले र नेकपा माओवादी केन्द्रवीचको वाम गठबन्धन अस्वभाविक भएपनि आफूहरुलाई कुनै फरक नपर्ने स्पष्ट पारेका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विगतमा पनि कांग्रेसले यस्तो वामपन्थी गठबन्धन फेस गरेर आएको भन्दै अहिलेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीचको एकता प्रयासबाट आफूहरु नआँत्तिएको स्पष्ट पारे । उनले भने,‘कांग्रेसले विगतका दिनहरुमा समेत यस्तो खाले वाम गठबन्धनहरुसँग संघर्ष गर्दै आएको हो, हामीलाई केही फरक पर्दैन्।’

वाम गठबन्धन गरेपनि अबको निर्वाचनमा नेकपा एमाले तेस्रो दल बने कसैले आश्चर्य मान्न नहुने भन्दै उनले खिल्ली समेत उडाए । साउदले भने,‘वाम तालमेल लामो समयसम्म जाँदैन्, किनकी उहाँहरुले जसरी ६० र ४० को भागबण्डा गर्दै जानुभएको छ, यो यही तरिकाले जाने हो भने भोलि दुवै पार्टीको राष्ट्रिय पहिचान नै गुम्ने हामीले विश्वास लिएका छौं।’

साउदले माओवादी केन्द्रलाई अत्यन्तै कठिन सहयात्री पार्टीको संज्ञा दिए । उनले थपे,‘वास्तवमा भन्ने हो भने माओवादी केन्द्र त कठिन सहयात्री नै हो, निकट विगतमा पनि हामीले यो कुरा भोग्यौं, माओवादी केन्द्रमा माओवादभन्दापनि क्रमभंगवाद देखिएको छ।’

माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने वा के गर्ने भनेर अहिले नै निर्णय नगरिसकेको पनि उनले जानकारी दिए । उनले भने,‘हुन त माओवादी केन्द्रका साथीहरुले हामीलाई वाम गठबन्धन बनाउँछौं भनेर भनक पनि दिनुभएन, तर हामीले उहाँहरुलाई अहिल्यै नै बर्खास्त गर्नेबारे सोचेका छैनौं।’



प्रतिक्रिया दिनुहोस्