Logo

एनआरएनए नेतृत्व हत्याउन दौड सुरु, अध्यक्षमा भवनविरुद्ध जमुना उठ्दै



काठमाडौं, २५ असोज । गैरआवासीय नेपाली सघ (एनआरएनए) नयाँ नेतृत्वमा को आउने हो भनेर अहिलेदेखि नै चर्को बहस सुरु भएको छ ।

हुन त संघले नयाँ नेतृत्व एक हप्ताभित्रै पाउँदैछ । झण्डै ७० भन्दा बढी मुलुकमा रहेका नेपालीहरुको प्रतिनिधि बनेर आफूले रोजेकालाई नेतृत्वमा पुर्याउन विश्वभरिबाट एनआरएनहरु काठमाडौं ओर्लिरहेका छन् ।

नेतृत्वको दौडमा एक महिना अघि नै आफूलाई उभ्याउनेमा हालका बरिष्ठ उपाध्यक्ष भवन भट्ट छन् । उनले मात्रै धेरै पहिले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका हुन् । तर उनीसँगै अर्को उम्मेद्धवार खडा भैसकेको छैनन् ।

हुन त काठमाडौं ओर्लिएका विभिन्न देशका प्रतिनिधिहरु अहिले कसलाई नेतृत्वमा ल्याउने भनेर दिनरात गोप्य बैठकहरु गरिरहेको तथ्य पनि बाहिर आएको छ । राजधानीका विभिन्न तारे होटेलमा बसर भावी नेतृत्व हत्याउने रणनीति बुन्न तल्लिन छन् एनआरएनहरु ।

सन् २००४ मा नेपाल र नेपालीका लागि भन्दै प्रसिद्ध उद्योगपति डा. उपेन्द्र महतो, भीम उदास, जीवा लामिछाने, प्रो. सुर्य सुवेदीहरुको नेतृत्वमा खुलेको यो संस्थामा राजनीति त घुसेकै थियो, अब जातियता पनि घुसेको छ । अनि क्षेत्रीयता अर्थात् कुन महादेशकालाई कुन महादेशले समर्थन नगर्ने भन्ने गलत अभ्यासको समेत सुरुवात भएको आशंका गर्न थालिएको छ ।

एनआरएनएको नयाँ नेतृत्वका लागि स्पष्टसंगै राजनीतिक दलका भातृ संगठनहरुको सक्रियता देखिएको विगतलाई बिर्साउने गरी यसपटकदेखि जातीयता सुरु भएको छ ।

त्यसैले एनआरएनएको नेतृत्व चयनका लागि योग्यता र देशभक्ति हैन त्यस बाहेकका तीनवटा महत्वपूर्ण पक्ष रहेको छ । मतदातालाई काठमाडौं ल्याउनुपर्ने, रजिष्ट्रेशन शुल्क आफैंले दिनुपर्ने र कतिपयलाई गाँसबासको समेत व्यवस्था गर्नुपर्ने अवस्था उम्मेदवारलाई बाध्यता पर्ने गरेको छ । अझै कतिपय देशमा त एनसीसी चुनावका लागि समेत केन्द्रीय अध्यक्षका आकांक्षीले खर्च दिनुपर्ने अवस्था आएको छ ।

एनआरएनएको चुनावका लागि पछिल्लो समय उदाएको जातीय पक्ष अझ महत्वपूर्ण र डरलाग्दो देखिएको छ । एनआरएनए बेलायत लगायत यूरोपका विभिन्न देशमा देखिएको जातीय प्रतिस्पर्धाले एनआरएनभित्र जातीय पक्षले पनि चुनावमा जित–हारको टुंगो लाग्ने देखिन्छ ।

एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्ट र पूर्व प्रत्यासी टीबी कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तले साथ दिएका छन् ।

उता वर्तमान अध्यक्ष शेष घलेले यो पटक आफ्नी पत्नी जमुना गुरुङलाई अघि सार्ने भएका छन्। गुरुङले विभिन्न देशबाट आएका प्रतिनिधि र उम्मेदवारी घोषणा गरिरहेका व्यक्तिसँग छलफललाई तीव्रता दिएकी र जित्ने अवस्था रहेमा अन्तिम समयमा भए पनि अध्यक्षको उम्मेदवार बन्ने रणनीति बुनेको उनी निकट एक प्रतिनिधिले रिपोर्टर्स नेपाल डटकमसँग बताए ।

हुन त घले दम्पतीलाई कांग्रेस सभापति समेत रहेका मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँगको भेटमा नै अघि बढ्नको लागि हौसाएका छन् । घले कांग्रेस निकट मानिन्छन् ।
उसो त युरोप तथा अमेरिकाका धेरै प्रतिनिधिहरु जनजाति भएको र एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचन, संरक्षक दिल गुरुङ, अमेरिका संयोजक सोनाम लामा लगायतले खुलेरै उनको पक्षमा अभियान चलाउने तयारी भएकोले जमुना अन्तिममा आएर भवनको विरुद्धमा उठ्ने प्रवल सम्भावना रहेको छ ।

यता संस्थापक अध्यक्ष डा. महतो र पूर्व अध्यक्ष जीवा लामिछानेले भट्टलाई समर्थन गर्न लगाएका छ् । संस्थापकहरुको आधिकारिक उम्मेदवार भट्ट हुन् । एनआरएनएको आठौं विश्व सम्मेलन यही १४ अक्टोबरदेखि १७ सम्म राजधानीको हायात होलमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्