Logo

कांग्रेसलाई पछि पार्दै नेकपा एमाले बन्यो सबैभन्दा ठूलो दल, कुन दलको हैसियत कस्तो ?



२९ असोज, काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो दल कुन हो भन्यो भने सबैको मुखमा आइहाल्छ, नेपाली कांग्रेस । तर अब नझुक्किनुहोस् । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल होइन । केन्द्रिय संसदको चुनावपछिको नतिजा नआएसम्मका लागि नेपालको सबैभन्दो ठूलो दल नेकपा एमाले हो ।

यसअघि संविधानसभाको दोस्रो चुनावमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेर पहिलो ठूलो दल बनेको नेपाली कांग्रेस अहिले दोस्रो ठूलो दलमा झरेको छ । शनिवार रुपान्तरित संसदको मिति सकिएर संसद विघटन भएपछि स्थानीय चुनावको नतिजाको आधारमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको हो ।
आगामी मंसिर १० र २१ गते हुने केन्द्रिय संसद र प्रदेशसभाको चुनावका लागि आज समानुपातिक तर्फको उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले शनिवार नै संसदको समयावधि औपचारिक रुपमा सकिएको हो ।

संसद बिघटन भइसकेपछि दलहरुको आकार निर्धारण हालका लागि स्थानीय चुनावको हैसियत अनुसार हो ।

यस्तो छ स्थानीय निकायको चुनावपछि दलको हैसियत
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि समानुपातिक उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले सबै ७५३ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो । शुक्रवार आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार तीन चरणमा गरेर देशभर जम्मा ३५ हजार ४१ जनप्रतिनिधि चुनिएका छन् ।
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ तिङ्लाबाहेक अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको छ । तिङ्लामा भने स्थानीय तह बिभाजनमा अशन्तुष्टि जनाउँदै जनताले नो भोट नो क्याण्डिेट अभियान चलाएका कारण मतदान हुन सकेन ।

समग्र निर्वाचन परिणामले नेपालका राजनीतिक दलहरुको आकार परिवर्तन गरिदिएको हो । संविधानसभा २०७० को निर्वाचनबाट पहिलो बनेको नेपाली कांग्रेस २०७४ को स्थानीय चुनावबाट दोस्रो बनेको हो ।

२०७० को चुनावमा दोस्रो बनेको एमाले यसपटक पहिलो बनेको छ । माओवादी केन्द्रले आफ्नो तेस्रो स्थान कायमै राखेको छ भने २०७० मा चौथो शक्ति बनेको राप्रपा नेपाल हाल पार्टी एकीकरणबाट राप्रपा बनेपछि सातौं स्थानमा धकेलिएको छ ।

राप्रपाको चौथो स्थानमा संघीय समाजवादी फोरम पुगेको छ भने पाँचौ स्थानमा राजपा पुगेको छ । बिजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम छैटौं स्थानमा रहदा राप्रपा भने सातौं स्थानमा पुगेको छ । आठौं स्थानमा राष्ट्रिय जनमोर्चा रहेको छ भने नवौं स्थानमा नेपाली जनता दल,दशौंमा नेपाल मजदूर किसान पार्टी र एघारौं स्थानमा नेपाल मजदूर किसान पार्टी रहेको छ ।

पार्टीहरुले स्थानीय तहका प्रमुख,उपप्रमुख र वडाध्यक्ष सहित सदस्यहरु जितेका आधारमा उनीहरुको संख्या निर्वाचन आयोगले उपलव्ध गराएको छ । जस अनुसार सबै पदमा सबैभन्दा बढि जितेर एमालेले पहिलो स्थान कायम राखेको छ ।



प्रतिक्रिया दिनुहोस्