Logo

सत्ता कब्जाको नियतले माओवादी मन्त्रीहरुले राजिनामा दिएनन् : रमेश लेखक



‘एक्लै चुनाव लडेपनि कांग्रेसले बहुमत ल्याउँछ’
काठमाण्डौं, ३० असोज । नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोडनुको मुख्य कारण सत्ता कब्जाको उदाहरण भएको आरोप लगाएका हुन् ।

उनले भने,‘उहाँहरुसँग सरकारमा हामीसँग बस्ने, अनि चुनावी तालमेल र एकताको प्रयासचाहीँ विपक्षी गठबन्धनसँग गरिरहनुभएको छ, यो कहाँसम्मको नैतिकवान कुरा हो, यो गलत भएको छ, उहाँहरुले नैतिकताको आधारमा पनि सरकारमा बस्न सुहाँउदैन, यदि उहाँहरु सरकारमै बसिरहनु भनेको सत्ता कब्जा गर्ने नियत हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा लेखकले वाम एकता र चुनावी तालमेलले काँग्रेसलाई कुनै असर नपार्ने बताउदै भने,‘काँग्रेस राणाका बिरुद्धमा एक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ।’

आउने मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस एक्लै चुनाव लडेपनि बहुमत ल्याउने उनको दाबी थियो । उनले थपे,‘हामी एक्लै चुनाव लडेपनि बहुमत ल्याउँछौं, जनताको विश्वासको आस्था भनेको नै हाम्रो पार्टी हो, यदि चुनावी तालमेल भयो भने त झनै सजिलै बहुमत हाँसिल गर्छौं।’ त्यस्तै लेखकले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच भएको वाम एकताको आयु लामो नहुने समेत दाबी गरे ।

वाम एकता सत्ता र सरकारको लागि रचिएको आरोप लगाउँदै उनले थपे,‘राष्ट्रहित विपरित वामपन्थीहरु उभिएका छन्, संसारमा लोकतान्त्रिक शासन प्रणाली स्थापित् भैसकेको स्थितिमा नेपालमा निर्वाचनमा बहुमत ल्याएर नेपालमा फेरी कम्युनिष्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्यभन्दा बाहिर जानु हो।’

 

 



प्रतिक्रिया दिनुहोस्