Logo

ओलीले देउवासँग भिड्नुपर्छ भनेपछि प्रचण्डले आफ्ना फिर्ता बोलाएनन



काठमाडौं, ३१ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आज दिउँसो राजिनामा दिने तयारी गरेका थिए । तर, राजिनामा दिन ठिक परेर बसेका माओवादी केन्द्रका मन्त्रीहरुले वर्तमान सरकारका प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्नको लागि षड्यन्त्र गर्ने आफूहरुलाई सूचना आएकोले जसरीपनि सरकारमै रहने तर राजिनामा नदिने निर्णय गरेका हुन् ।

हुन त आफ्ना मन्त्रीहरुलाई आजै राजिनामा गराउने भन्दै प्रधानमन्त्री देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा पनि प्रचण्डले चुनाव हुने सुनिश्चित भएमात्रै आफूहरु सरकारबाट बाहिरिने वचन दिएका थिए । देउवाले सुरुमै प्रचण्डलाई तपाईका मन्त्रीहरुलाई राजिनामा गराउने भए गराउनुहोस् होईन भने म विना विभागीय बनाउँछु भनेर चेतावनी दिएका थिए ।

प्रचण्डसँगको गरमागरम भेटवार्तापछि प्रचण्डले एमाले नेताहरुसँग भेट गरेका थिए । बाम गठबन्धनको छलफलमा प्रचण्डले देउवासँगको छलफलका ब्रिफिङ गरे । मंगलबार विहान ललितपुरको एक घरमा एमाले र माओवादी एकता संयोजन समितिको बैठक बसेको थियो । जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत थिए ।

प्रधानमन्त्री देउवाले सत्तारुढ माओवादीसँग कुनै सल्लाह नगरी निर्वाचन मन्त्रीमण्डल विस्तार गरेको, निर्वाचन आचारसंहिता मिचेको आरोपसहित सरकारबाट बाहिरिने विषयमा प्रचण्ड र ओली दुवै तयार भए ।

त्यसैअनुसार सरकारबाट बाहिरिने विज्ञप्तिसमेत मस्यौदा हुँदैथियो । तर चुनाव सार्ने देउवाको प्रपञ्च भन्ने अदालततिरबाट सूचना आयो भने निर्वाचन आयोगबाट पनि त्यस्तै संकेत पाएपछि गठबन्धनले मस्यौदा अघि नबढाउने निधो गरेका थिए ।

गत असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिवीच चुनाव गठबन्धन र पार्टी एकतामा जाने सहमति बनेपछि सत्तारुढ दल काँग्रेस र माओवादीबीचको सम्बन्धमा खटपट भएको थियो । त्यसपछि पनि माओवादीले पूर्व सहमति अनुसार चुनावसम्म सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष ओलीले तत्काल मन्त्रीबाट राजिनामा नगर्नको लागि प्रचण्डलाई आग्रह गरेका थिए । देउवाले चुनाव सार्नको लागि अनेक षड्यन्त्र गरिरहेको भन्दै कम्तिमा कार्तिक ५ गतेसम्म सरकारमै रहनको लागि ओली र प्रचण्ड सहमत भएका थिए । ओलीकै ईशारामा प्रचण्डले एकाएक आफ्ना मन्त्रीहरुलाई राजिनामा नदिनको लागि निर्देशन दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्