कात्तिक १७, काठमाण्डौ । आगामी चुनावमा जनताको भोट तान्ने उद्देश्यले प्रमुख दलहरुले विकासका योजनासहित चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् । हरेक चुनावमा सार्वजनिक गरिने घोषणापत्र आकर्षक हुन्छन्, तर कार्यान्वयन कहिल्यै पनि भएका छैनन् ।
आगामी निर्वाचनका लागि नेकपा माओवादी र नेकपा एमालेको संयुक्त बाम गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ । संयूक्त रुपमा प्रस्तुत गरिएको उक्त घोषणा पत्रमा गरिबी पूर्ण रुपमा उन्मुलन गरि १० बर्ष भित्रमा प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने उल्लेख गरिएको छ । हरेक चुनावमा सार्वजनिक गरिने घोषणपत्र कार्यान्वन गर्न नसक्ने दलहरुले कागजी कार्यक्रम भने लोभलाग्दो बनाएका छन् ।
आउंदै गरेको चुनावलाई लक्षित गरि नेकपा एमाले र माओवादी बाम गठबन्धनले संयुक्त रुपमा बिहिबार घोषणपत्र सार्वजनिक गरेको हो । घोषणपत्रमा पाँच बर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पु¥र्याइने उल्लेख गरिएको छ । महत्वाकांक्षी रुपमा प्रस्तुत गरिएको घोषणपत्रमा निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिने र १० बर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरीकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकास गरिने उल्लेख गरिएको छ । मुलुकको समृद्धिका लागि भूमिको बैज्ञानिक व्यवस्थापन, आधुनिक कृषि र सम्पन्न किसान नारा अघि सारिएको घोषणपत्रमा कृषिभूमि अतिक्रमण गर्न नपाइने, कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गरिने व्यवस्था लागू गर्ने र दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा खाद्यान्न निर्यात गर्ने वातावरण बनाउने उल्लेख गरिएको छ ।
कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गर्दै १० वर्षमा नेपाललाई प्राङ्गारिक मुलुक बनाउने पनि घोषणापत्रमा उल्लेख छ । पाँच वर्षमा सम्पूर्ण सिंचाइ योग्य कृषि भूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गर्ने, आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगीक क्षेत्र र सडकमा चौबिसै घण्टा पर्याप्त विद्युत उपलव्ध गराउने तथा आगामी ३ वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गर्ने प्रतिवद्धता जनाइएको छ । घरघरमा बिजुलीः जन जनमा शेयर नीति लागू गर्दै आकर्षक जलविद्युत परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने दावी एमाले र माओवादीले संयुक्त रुपमा गरेका छन् ।
राजधानीमा खेलकुद विश्वविद्यालय र प्रदेशका सदरमुकामहरूमा खेलकुदसम्बन्धी आवासीय विद्यालय सञ्चालन गर्ने र आगामी ५ वर्षमा सबै गाउँपालिकाहरुलाई व्यवस्थित शहरीकरण लागू गरी नगरपालिकामा रुपान्तरण गरिने घोषणापत्रमा उल्लेख छ । ०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा बाढी पहिरोमा परि घरघडेरी समेत गुमाएका परिवारका लागि निशुल्क घडेरीको व्यवस्था गर्ने बाम गठबन्धनको दाबी छ ।
घर क्षति भएका प्रत्येक परिवारलाई घर निर्माणका लागि ३ महिना भित्र ४ लाख अनुदान र ३ लाख दीर्घकालिन निव्र्याजी ऋणको व्यवस्था गर्ने पनि उल्लेख छ । साथै राष्ट्रिय स्तरमा भूकम्प, बाढी र पहिरो लगायत विपत् व्यवस्थापनका लागि स्थायी संयन्त्र निर्माण गर्ने स्थानीय तहका सबै संरचना प्राकृतिक जोखिमबाट सुरक्षित, विपद्प्रति संवेदनशील र अपाङ्गमैत्री बनाइने घोषणापत्रमा उल्लेख छ ।
यसैगरी गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने नीति लिँदै प्रवासी नेपाली नागरिकहरुको श्रम सम्बन्धी हक लगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यसअघि ७० सालको दोस्रो संविधानसभाको चुनावका बेला उल्लेख गरिएको प्रतिबद्धता कुनै पनि पूरा नहुँदै यसपटक जनताको आँखामा छारो हाल्नकै लागि दलहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यसैगरी नेपाली कांग्रेसले पनि चुनाव लक्षित घोषणपत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरि ‘आर्थिक समृद्धिको संकल्प’सहित घोषणापत्रमा सार्वजनिक गरेको हो । घोषणापत्रमा कांग्रेसले उच्च र फराकिलो आर्थिक वृद्धिको महत्वाकांक्षी राष्ट्रिय अभियानको नेतृत्व गर्ने उल्लेख गरिएको छ ।
कांग्रेसले आगामी पाँच वर्षभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब रुपैयाँ पु¥याउने महत्वकांक्षी योजना सहित मतदातासमक्ष घोषणपत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रतिव्यक्ति औसत वार्षिक आयको लक्ष्य पनि धेरै महत्वकांक्षी राखिएको छ । वार्षिक प्रतिव्यक्ति आय एक लाख ५० हजारभन्दा बढी हुनेगरी अर्थतन्त्रलाई गतिशील बनाउने घोषणापत्रमा छ । यो लक्ष्य प्राप्तिका लागि पर्याप्त रोजगारीको अवस्था सिर्जना गर्नु र अर्थतन्त्र मजबुत गराउनु अति आवश्यक हुन्छ । अहिलेकै अवस्थामा उक्त लक्ष्यमा पुग्न निकै कठिन देखिन्छ ।
यद्यपि, उसले नीतिगत सुधार, स्वदेशी तथा विदेशी पूँजीको परिचालन, चुस्त आर्थिक व्यवस्थापन र असल शासनको प्रत्याभूति सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । नेपालको अर्थतन्त्रलाई ज्ञान, अनुभव, विवेक र अन्तर्रा्ष्ट्रिय विश्वसनीयताका आधारमा दूरगामी सम्पन्नताको बाटोमा हिडाउन सक्ने क्षमता कांग्रेससँग मात्र भएको दाबी गरिएको छ । आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको गतिशील राष्ट्र बनाउने संकल्प घोषणापत्रमा छ । ‘यसका लागि प्रचलित मूल्यमा अर्थतन्त्रको आकार आजको भन्दा चार गुणा ठूलो बनाउनुपर्नेछ ।
कम्तिमा पनि एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष तीनदेखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ,’ घोषणापत्रमा भनिएको छ, यो उद्देश्य पूर्ति गर्नका लागि उपयुक्त आन्तरिक तथा वाह्य लगानीको वातावरण तयार गरिनेछ । नयाँ आर्थिक अवसरहरुको पहिचान गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र समावेशी समृद्धिलाई अभियानको रुपमा अगाडि बढाउने, युवा तथा महिला उद्यमी परिचालन, कृषि आधुनिकीकरण, पर्यटन विकास, उद्योगको द्रूत विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा व्यापक लगानी परिचालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ । कांग्रेसले यातायात, ऊर्जा, सडक, सिँचाइ, कृषि, पर्यटनलगायत भौतिक पूर्वाधारको विकासदेखि हरित शहर, स्मार्ट शहर, सांस्कृतिक शहर, ऐतिहासिक शहरहरु विकसित गर्ने विषयलाई प्राथमिकताका साथ घोषणपत्रमा राखेको छ ।
निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, एक गाउँ एक उत्पादन तथा एक नगर एक कार्यक्रमलाई जोड दिई विशेष प्रकृतिको कृषि प्रसार सेवा विस्तार गर्नेलगायत विषयलाई पनि जोड दिइएको छ । त्यसैगरी तराईका मतदातालाई आकर्षित गर्न तराई–मधेश केन्द्रित विभिन्न प्रतिबद्धतालाई घोषणापत्रमा समेटेको देखिन्छ । बाढीको दुष्प्रभावबाट तराई–मधेश क्षेत्रलाई मुक्त बनाउन प्रत्येक वर्ष कम्तिमा सय किलोमिटर तटबन्धन निर्माण गरिने, नदीहरूमा दुवैतर्फ निर्माण गरिने तटबन्धलाई गाडी चल्न सक्ने सडकका रुपमा प्रयोग गरिने, तराईका ग्रामिण सडकहरुको कालोपत्रे, स्तरोन्नति, पुलनिर्माण गरिने जस्ता प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।
जैविक र खेतीयोग्य जमिनको संरक्षणका लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको प्रभावकारी आयोजनाका रूपमा सञ्चालन गरिने र जनकपुरलाई तराइको सांस्कृतिक तथा धार्मिक महानगर र विरगंजलाई व्यावसायिक महानगरका रूपमा विकास गरिनेसमेत कांग्रेसको घोषणपत्रमा उल्लेख छ ।