Logo

चितवन चुनावी महासंग्राममा जित्ने खेलाडी प्रचण्ड कि विक्रम ?



काठमाडौं, १८ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि जिल्लाजिल्लामा चुनावी सरगर्मी बढेको छ । उम्मेद्धवारहरु आक्रमक रुपमा चुनावी प्रचारमा उत्रिएका छन् । यो पटकको निर्वाचनमा राजनीतिक तापक्रम ह्वात्तै बढेको छ ।

चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन् । दुई पटकका प्रधानमन्त्री अनी जनयुद्धका योजनाकार समेत रहेका प्रचण्डको लागि यो पटकको निर्वाचन अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

त्यतिमात्रै यो पटकको निर्वाचनमा सबैभन्दा आकर्षणको केन्द्र समेत चितवन क्षेत्र नम्बर ३ रहेको छ । त्यहाँ प्रचण्डसँगको प्रतिष्पर्धामा अर्का प्रभावशाली नेता विक्रम पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेता समेत रहेका पाण्डेको चिवतनमा चुलिँदो क्रेज छ । राप्रपाले निकै न्युन रुपमा चुनाव जितेका बेला चुनाव जित्ने पाण्डे चितवनको सो क्षेत्रका चर्चित समाजसेवी हुन् । चचिर्त उद्योगीको रुपमा समेत गनिएका पाण्डे समाजसेवाको माध्यमबाट सो क्षेत्रमा राप्रपाबाट पनि चुनाव जित्न सफल भएका व्यक्ति हुन् ।

चितवनमा दुबै चर्चित र हेभीवेट फिगर भएका कारण कसले चुनाव जित्ला भनेर यतिकै भन्न सकिने अवस्था छैन । तर अहिलेदेखि नै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा यही क्षेत्रकै बारेमा चर्चा तथा परिचर्चा भैरहेका छन् । कसले बाजी मार्ला त भनेर भन्न सकिने अवस्था छैन् ।

जसले जे भनेपनि मुलुकको कार्यकारी प्रमुखजस्तो पदमा दुई दुई पटकसम्म पनि विराजमान भएका प्रचण्ड जस्तो राष्ट्रकै नेतालाई पनि सो क्षेत्रबाट चुनाव जित्न त्यति सहज भने छैन । यो बीचमा उनलाई यदि ठूलो भर कोहीबाट छ भने भरतपुर महानगरपालिकामा आफ्नै छोरी रेणुसँग् हारेका एमालेका उम्मेद्धवार देवी ज्ञवालीको छ । हुन त ज्ञवाली र प्रचण्डवीच अहिले यस्तो सामिप्यता बढेको छ । एमाले अध्यक्ष ओलीले ज्ञवालीलाई आकस्मिक रुपमा काठमाडौं झिकाएर प्रचण्डसँग दोस्ती बनाईदिएका थिए । त्यसैले पनि होला, प्रचण्ड अहिले जहाँ जान्छन् ज्ञवालीपनि सँगै हुन्छन् । ज्ञवाली नै अहिले प्रचण्डका चुनावी कमाण्डर हुन् ।

प्रचण्ड माओवादी केन्द्रका तर्फबाट मात्रै भए त जित्ने अवस्था हुने नै थिएन । तर एमाले र नेकपा माओवादी केन्द्रका वाम गठबन्धनको साझा उम्मेदवार भएकाले उनले हारिहाल्ने अवस्था भने नरहेको स्थानीय मतदाताको बुझाई छ । तर उनको प्रतिस्पर्धामा रहेका पाण्डे पनि एक्लै छैनन् । पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेकाले त्यस क्षेत्रको चुनावी प्रतिस्पर्धा पनि हेर्न लायक हुने अनुमान गरिएको छ । पाण्डेलाई कांग्रेसको पूर्ण साथ छ । चितवनको उक्त क्षेत्रमा कांग्रेसको ठूलो प्रभाव छ । सोही क्षेत्रबाट तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाले चुनाव जितेका थिए ।

हुन त बिहीबार प्रचण्ड र विक्रम पाण्डे लगभग सँगसँगै उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । दुबै उम्मेदवार दलबलसहित उम्मेदवारी दर्ताका लागि पुगेका थिए । यतिवेला प्रचण्डलाई सबैभन्दा ठूलो डर बाहृय अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुले हराईदिन्छ कि भन्ने उनमा ठूलो डर छ । जनताको भन्दापनि अरुको डर छ । कहाँबाट मेरो विरुद्धमा षडयन्त्र हुने हो कि भन्ने डर प्रचण्डमा व्याप्त रहेको छ ।

तर यता पाण्डेलाई भने प्रचण्डसँग रिसाएका मानिसहरुबाट आफूलाई मत प्राप्त हुन्छ कि भन्ने विश्वास छ । त्यसैले अहिले देश तथा विदेशमा बस्ने नेपालीहरुको लागि चितवन राजनीति बहसको केन्द्रविन्दु भएको छ । प्रचण्डले चुनावी रणनीति सबै अपनाएका छन् । साम, दाम, दण्ड र भेद सबै अपनाएर चुनावी अभियानमा प्रचण्ड होमिएका छन् ।

त्यस्तै व्यापारिक पृष्ठभुमिका चर्चित व्यक्तित्व वनमन्त्री समेत रहेका विक्रम पाण्डे पनि सबै खाले तरिका अपनाएका छन् । चुनावी माहोल सुरु भैसकेको छैन । दुवैको आ–आफ्नो आन्तरिक तयारी भने भैरहेको छ । भरतपुर महानगरपालिकामा मेयरमा पराजित भएका देवी ज्ञवालीसँग चिसोपना भने अहिले प्रचण्डसँग छैन् । ओलीले सम्बन्ध देवी ज्ञवालीलाई च्यापेर हिँड्न थालेका छन् । उनले आफ्नै छोरीलाई भने त्यति वास्ता गरेका छैनन् ।

यता राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष पाण्डेले कांग्रेसका मतदाताको सबै भोट आफूले पाउने दावी गर्दै आएका छन् । कांग्रेसकै चाहनामा प्रचण्डसँग आफू चुनावी मैदानमा उत्रिएको पाण्डेको दाबी छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा पाण्डेले संक्षिप्त प्रतिक्रिया दिँदै भने,‘‘यसैपनि यो क्षेत्रमा कांग्रेस बलियो छ । हामी पनि कम छैनौं, दुवैको मत मिल्दा जित्न सजिलो छ,’ पाण्डेले अघि भने, ‘कांग्रेसका सबै मतदाताले मलाई भोट हाल्नेमा ढुक्क छु ।’

भरतपुर महानगरको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेको र त्यसको ३ महिना पनि पुग्दानपुग्दै माओवादीले धोका दिएकाले कांग्रेसको मत आफूले पाउने उनको जिकिर छ ।

 



प्रतिक्रिया दिनुहोस्