Logo

लोकतन्त्र तलमाथि हुन दिँदैनौँ : ओली



काठमाडौँ, २१ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताउनुभएको छ ।

उक्त गठनबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौँ ।”

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन, हाम्रै पुस्ताले बलिदान र संघर्ष गरेर आएको हो । त्यसैले लोकतन्त्र हाम्रो निष्ठा मात्र होइन, यो उपलब्धि हो । हामीले जनता जगाएको प्रमाण हो । हामी लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ ।”

उहाँले एमाले र माओवादी मिलेर पहिला पनि सरकार चलाएकाले चुनावी गठबन्धन र पार्टी एकताको घोषणा हुँदा कसैले कोकोहोला र रुवाबासी गर्न नपर्ने बताउँदै भन्नुभयो, “पार्टी मिल्दा लोकतन्त्र खतरामा पर्ने भन्न थालिएको छ, के झगडा गर्दा लोकतन्त्र सुरक्षित हुन्छ ?”

मुलुकलाई एकताबद्ध बनाएर जानु अहिलेको आवश्यकता भएको बताउँदै उहाँले घोषणापत्रमा आफूहरुको लक्ष्य र प्रतिबद्धता सही नीति, संकल्प र विचारका साथ अघि सारिएको जनाउनुभयो । नेता ओलीले दुनियाँले पत्याउनसमेत गाह्रोपर्ने गरी काम गर्दै आएका दुई पार्टीले तयार गरेको घोषणापत्र भएकाले प्रतिस्पर्धामा उत्रन र सही विचार नलिनेका लागि सहन गाह्रो पर्न सक्ने जिकिर गर्नुभयो ।

उहाँले नेपालका दुवै छिमेकी भारत र चीनसँगको समदूरीको सम्बन्धलाई विकास गर्ने बताउँदै राष्ट्र निर्माण र सन्तानको भविष्य बनाउने कुरामा कोही पनि जिम्मेवारीबाट पछि हट्न नहुने बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्