Logo

ऋषि धमलाको भाषण सुनेपछि सर्लाहीवासी भक्कानिएर रोए



सर्लाही, २१ कार्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुक निर्वाचनमय भएको भन्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

मंगलबार सर्लाहीको क्षेत्र नम्बर ४ स्थित् गौराईटा नगरपालिकामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् । उनले भने,‘समग्र मधेश चुनावमय भएको छ, चुनावी पर्व सुरु भयो, चुनावलाई सफल रुपमा सम्पन्न गर्नको लागि क्लबले पनि देशव्यापी रुपमा अभियान चलाएको छ, यही अभियानका साथ हामी यहाँ आएका छौं, तपाईहरु जनताले पनि चुनावमा उत्साहका साथ सहभागिता जनाउनुपर्छ, चुनावलाई पर्वको रुपमा मनाउनुहोस्।’

धमलाले अबको निर्वाचनमा मधेशको अधिकारको लागि काम गर्न सक्ने र विकास गर्न सक्ने मानिसलाई चुनेर पठाउन समेत जिल्लावासी जनताहरुसँग आग्रह समेत गरे । उनले थपे,‘मधेश संभावना बोकेको जिल्ला भूमि हो, यहाँको विकास भनेको मुलुकको विकाससँग जोडिएको छ, त्यसैले तपाईहरुले यहाँको विकास गर्न सक्ने र समग्र मधेशी जनतालाई अधिकार दिलाउन सक्ने नेताहरुलाई चुनेर पठाउनको लागि म यसै कार्यक्रममार्फत तपाईहरुलाई विशेष आग्रह गर्दछु।’
उनले मधेश कृषिको उर्वर भूमि भएको उल्लेख गर्दै विकासप्रेमी र मधेशको लागि काम गर्न सक्ने योग्य उम्मेद्धवारलाई चुनेर संसदमा पठाउन आग्रह गरे ।

उनले थपे,‘यसपटक तपाईहरुले अधिकार र विकासप्रेमी नेतालाई मात्रै जिताएर पठाउनुपर्छ, किनकी तपाईहरुको भाग्यको फैसाला तपाईहरुले नै गर्ने हो, मधेश विकासको मुटु हो, यहाँको विकासको लागि सबै दलका नेताहरु मिल्नुको विकल्प छैन, त्यसैले आज एउटा प्रण गरौं, हामी सबै मिलौं । समृद्धिशाली राष्ट्र बनाऔं । निर्वाचन भनेको महानयात्रा हो । हाम्रो क्लबपनि चुनाव सफल रुपमा सम्पन्न गर्ने अभियानमा छ । आउने दिनमा पनि म यहाँको विकास र अधिकारको लागि आफ्नो ठाउँबाट सक्दो काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’

सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ गौराईटा नगरपालिकाको वडा नम्बर ५ श्री सरस्वतीदेवी आधारभुत विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुलाई समेत पत्रकार धमलाले आफ्नो हातबाट पुरुस्कार हस्तान्तरण गरेका थिए । उक्त प्रतियोगितामा सर्लाही जिल्लाका २० वटा विद्यालयले भाग लिएका थिए ।

‘नेपालको विकासमा निर्वाचनको भूमिका’ बारे वत्तृत्वकला प्रतियोगिता र साँस्कृतिक समारोह र सम्मान कार्यक्रमका समेत प्रमुख अतिथि रहेका धमलाले आफू चुनावी अभियान लिएर मधेश झरेको भन्दा हजारौंको संख्यामा उपस्थिति जनताहरुले उनको स्वागतमा ताली बजाएर स्वागत गरेका थिए ।

त्यस्तै नगरपालिकाका मेयर देवेन्द्र यादव, रिपोर्टर्स क्लब नेपालका केन्द्रिय उपाध्यक्ष बैकुण्ठ ढुँगाना, क्लबका २ नम्बर प्रदेशका कोषाध्यक्ष अभिमन्यु पटेल, ज्येष्ठ पत्रकार तथा भक्तजनहरुलाई सम्मान गरिएका थियो । त्यस्तै मनोज पटेल र राजेश कुशवहालाई समेत अभिनन्दन गरिएको छ ।

त्यस्तै धमलालाई नेपाली रेडियो नेटवर्कमार्फत ‘नेपाली बहस’ कार्यक्रम चलाएको भन्दै समग्र जिल्लावासीहरुले सार्वजनिक अभिनन्दन समेत गरेका थिए । धमलाले सम्बोधन गरिरहँदा सर्लाहीका हजारौं जनताले एकै स्वरमा धमलालाई मधेशमा आउनको लागि आग्रह समेत गरेका थिए ।

उनीहरुले धमलाजस्तो मान्छे मधेशको राजनीतिमा आउनुपर्यो भन्दै हुटिङ नै लगाएका थिए । त्यस्तै रमाईलो त के भने धमलालाई उनीहरुले गम्छा लगाएर मधेशको पहिचान झल्काएका थिए । उनलाई मधेशको सच्चा नेता हो भन्दै उनीहरुले सम्बोधन गरेका थिए ।

त्यतिमात्रै नभएर धमलाको भाषण सुन्दै गर्दा उनीहरु रोएका थिए । सर्लाहीवासीले पत्रकार धमलालाई उच्च सम्मान गरेको छ । उनलाई माला र खादा लगाएर सम्मान गरेपछि उनले आफू गौरवान्दित भएको बताए ।



प्रतिक्रिया दिनुहोस्