Logo

अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्ष : नेता लेखक



कञ्चनपुर, २१ कात्तिक  : नेपाली काँग्रेसका नेता रमेश लेखकले लोकतान्त्रिक व्यवस्थालाई जीवन्त राख्ने वा नराख्ने भन्ने बारेमा निर्णय गर्न ऐतिहासिक निर्वाचन हुन लागेको बताउनुभएको छ ।

आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आयोजित पार्टीको बृहत् चुनावी कार्यकर्ता भेलामा उहाँले भन्नुभयो – “संविधानमा भएको व्यवस्था बदल्छौँ भन्ने अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्षको रुपमा अहिलेको निर्वाचनलाई लिन सकिन्छ ।”

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता लेखकले अहिलेको राष्ट्रिय एजेण्डा संविधानको पूर्ण कार्यान्वयन भएकाले संविधान कार्यान्वयनपछि मात्रै सबै जातजाति, वर्ग, धर्म, संस्कृतिको अधिकार स्थापित हुने बताउँदै संघीयताको ग्यारेण्टी गरिएको र समावेशी चरित्रको संविधान बचाउनका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता भएको छ भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले एकतन्त्रीय निरङ्कुश शासन प्रणाली अवलम्बन गर्ने वा समानता, स्वतन्त्रता, समृद्धिको बाटोमा लैजाने चिन्तनमा जाने भन्ने बीचकोे निर्वाचन हुने भएको बताउनुभयो ।

नेपाली काँग्रेसले निर्वाचनमा विजयी भए मात्रै प्रजातन्त्र रहन्छ अन्यथा मुलुकबाटै प्रजातन्त्र लोप भएर जाने बताउँदै उहाँले भन्नुभयो – “लोकतान्त्रित शक्तिलाई बलियो बनाए मात्रै देश समृद्धितर्फ जान्छ ।”

नेता साउदले दुईवटा विशाल सभ्यताबीच हाम्रो देश बसेको छ भन्दै निर्वाचनपछिको शासन प्रणालीले मैत्री भावलाई दिगो र दरिलो बनाउन नसके राष्ट्रियता खतरामा पर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली काँग्रेसकै प्रयासमा पञ्चेश्वर परियोजनालाई अगाडि बढाई कञ्चनपुरलाई इलेक्ट्रिक सिटीका रुपमा विकास गरिने बताउँदै “कम्युनिष्टले सत्ता परिवर्तन भनेका छन् तर संसारका कम्युनिष्टले सत्ता सञ्चालन गरेको कुनै पनि देश सफल हुन सकेका छैनन्”, भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका तीन, प्रदेश सभाका छ र समानुपातिकतर्फका उम्मेदवारलाई एउटै मालामा बाँधिएको थियो । विकास निर्माणमा साझा प्रतिबद्धता जनाउनका लागि उम्मेदवारलाई एउटै मालामा बाँधिएको जनाएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्