Logo

सुर्खेतका जनप्रतिनिधिलाई बालविवाह समस्या चुनौती



सुर्खेत, २३ कार्तिक । बालविवाह न्यूनीकरणको जति अभियान सञ्चालन गरे पनि बालविवाहका घटना बढ्दै गएका छन् । बालविवाहका घटना बढ्दै गएपछि यसको न्यूनीकरण गर्न चुनौती बनेको सुर्खेतको लेकवेसी नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

बालविवाह रोक्न खोज्दा धम्की आउने र यसबाट आफ्ना चुनावी अभियान बिथोलिने हो कि भन्ने समस्या रहेको उनीहरुले सुनाए । रोलर-युएनडिपीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले बुधबार लेकवेसी नगरपालिकामा आयोजना गरेको सेवाप्रदायकसँग कानूनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले बालविवाहसम्बन्धी कानून कार्यान्वयन गर्न चुनौती रहेको औँल्याएका हुन् ।

बालविवाह न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन भए पनि यसमा व्यवहारमा परिवर्तन आउन नसकेको लेकवेसी नगरपालिका–१० का अध्यक्ष कमलप्रसाद आचार्यले बताउनुभयो । बालविवाहलाई जनप्रतिनिधिले बहिष्कार गर्दा आफूलगायत पार्टी नै चुनावमा बहिष्कार हुनुपर्ने अवस्था आउने अध्यक्ष आचार्यले बताउनुभयो ।

वडा नं ८ का वडाध्यक्ष लालबहादुर टङ्लामीले गाउँघरमा अझै पनि बालविवाह न्यूनीकरणका लागि आफूहरुलाई प्रमुख चुनौतीका रुपमा रहेको बताउनुभयो ।

“कानूनअनुसार बालविवाह गराउने र भोजमा सहभागी हुने सबैलाई कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “सहभागी हुँदा कानून विपरीत हुने र सहभागी नभए आफै बहिष्कार भइन्छ ।” यसरी विवाहमा सहभागी नहुँदा आफन्तबाट बहिष्कार हुनाका साथै राजनीतिमा पनि समस्या आउने उहाँको भनाइ थियो ।

वडा नं ९ का वडाध्यक्ष मानबहादुर खड्का मगरले कानुनी दायरामा रहेर काम गर्न कठिन भएको उल्लेख गर्नुभयो । वडा सचिव डिलाराम चापागार्इंले बालविवाहका घटनालाई घटना दर्ता गर्न समस्या भएको बताउनुभयो ।

स्वास्थ्य चौकीका कुम्भप्रसाद पौडेलले समुदायमा बालविवाहसँगै घरेलु हिंसा र छुवाछूतले जरा गाडेर बसेको भन्दै यसलाई न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको औँल्याउनुभयो ।

वडा सदस्य दुर्गा बाह्रघरेले कानूनका बारेमा अनभिज्ञ भएका कारण महिला आफूमाथि हिंसा भए पनि कानुनी प्रक्रियामा नगएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्