Logo

लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने मन्त्री थापाको दाबी



काठमाडौं, २४ कार्तिक । काठमाडौ क्षेत्र नम्बर ७ का कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा उम्मेद्धवार एवम् राप्रपा नेता तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रम थापाले अबको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले यस्तो दाबी गरेका हुन् । मुलुकमा पछिल्लो समय दुई ध्रुवीय गठबन्धनले नयाँ तरंग पैदा गरेकोले जनता हिसाब गरेर बसिरहेको बताउँदै थापाले भने,‘जनताले उचित हिसाबकिताब गरेर बस्नुभएको छ, उहाँहरुले आफ्नो विवेक प्रयोग गर्ने बेला आयो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको निर्वाचनमा लोकतान्त्रिक एलायन्सलाई नै जनताले सुविधाजनक बहमुत दिने ठोकुवा गरे । उनले थपे,‘कसले कति सिट जित्छ भनेर यतिकै दाबी गरेर भन्न सकिँदैन, तर लोकतान्त्रिक गठबन्धनले सुविधाजनक बहुमत ल्याउँछ।’ थापाले मुलुकमा लोकतान्त्रिक गठबन्धनको विकल्प नभएको समेत जिकिर गरे ।

उनले थपे,‘जनताले माओवादीको दश वर्षे जनयुद्धपनि हेरिसकेका छन्, एमालेको सरकार पनि हेरिसकेका छन्, त्यसैले अब जनता मुलुकमा स्थायित्व र भरपर्दौ सरकारको पक्षमा छन्, त्यो भनेको लोकतान्त्रिक गठबन्धनबाटमात्रै सुनिश्चित छ।’

थापाले क्षेत्र नम्बर ७ मा लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत धेरै देखिएको दाबी समेत गरेका छन् । जनताको सद्भाव र सहयोग मिलेका कारण आफूलाई चुनाव जित्न सहज हुने थापाको भनाई छ । उनले आफू मात्रै नभएर उक्त क्षेत्रमा गठबन्धनका सबै उम्मेद्धवारहरुले विजयी हाँसिल गर्ने दाबी समेत गरे । आफ्नो उम्मेद्धवारीले जनतामा व्यापक उत्साह छाएको समेत थापाले जनाए ।

काठमाण्डौ क्षेत्र नम्बर ७ मा विगतका जनप्रतिनिधीले विकास निर्माणका काम गर्न नसकेको आरोप थापाले लगाएका छन् । काठमाण्डौको छेउछाउकै क्षेत्र भएर पनि विकास निर्माणका काम हुन नसकेको भन्दै थापाले त्यस क्षेत्रको विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

मतदाताले आफ्नो विवेक प्रयोग गर्ने बेला आएको बताउँदै थापाले विगतमा भोट दिएको नेतालाई नै अहिले पनि दिनुपर्छ भन्ने मानसिकताबाट जनता मुक्त भएको दाबी गरे । नेपाली कांग्रेसले आफूलाई पूर्ण रुपमा सहयोग गरेको थापाको विश्वास छ ।

 

 



प्रतिक्रिया दिनुहोस्