Logo

उद्योगपति विनोद चौधरीको कांग्रेस प्रवेशले उत्साह बढ्दै, बन्लान त चौधरी भावी अर्थमन्त्री



कात्तिक २४, काठमाण्डौ । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेपछि पार्टीभित्रका सबैजसो नेताहरु सन्तुष्ट देखिएका छन् । पार्टी प्रवेश गरेलगत्तै प्रतिनिधीसभा सदस्यको समानुपातिक उम्मेदवार बनाइएका चौधरीलाई अहिले भावी अर्थमन्त्रीको रुपमा समेत हेरिएको छ ।
कांग्रेसका नेताहरुले पनि सही मान्छे कांग्रेसमा प्रवेश गरेको भन्दै उत्साह बढेको बताउने गरेका छन् । अन्तराष्ट्रिय सम्बन्ध मजबुत भएका चौधरीको आगमनले पार्टीलाई विभिन्न कोणबाट सकारात्मक प्रभाव पर्ने बताइएको छ ।

२०६४ को संविधानसभा निर्वाचनपछि एमाले कोटामा सभासद भएका चौधरी कांग्रेस प्रवेशसँगै प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेका हुन् ।

चौधरीलाई कांग्रेसमा ल्याउन शशांक कोइराला र भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भूमिका खेलेका थिए । त्यसमा सभापति देउवाले तत्काल समर्थन जनाएका थिए ।

फोब्र्सका अनुसार गत कात्तिक ११ गतेको मूल्यमा उनको सम्पत्ति १ अर्ब ३८ करोड अमेरिकी डलर (करिब १ खर्ब ४० अर्ब रुपैयाँ) छ । फोब्र्सले धनीहरूको तत्कालीन सम्पत्ति (रियल टाइम) आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ । फोब्र्सको सूचीमा उनी १५ सय ६७ औं नम्बरमा छन् ।

चौधरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भइसकेका छन् । उनी अध्यक्ष हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको उदारीकरणमा उनको योगदान थियो । यस अर्थमा चौधरीको कांग्रेससँगको निकटता धेरै पुरानो देखिन्छ ।

फोर्ब्सका अनुसार चौधरीले करिब सय कम्पनीको व्यवस्थापन गर्छन् । उनको नेपालमा सबैभन्दा ठूलो आय हुने कम्पनी नबिल बैंक हो । तर, वाईवाई चाउचाउका उत्पादक भनेर उनलाई अधिकांशले चिन्ने गरेका छन् । चौधरीको नवलपरासीको क्षेत्र नम्बर १ अन्तर्गत दुम्कौलीमा चौधरी उद्योग ग्राम छ ।



प्रतिक्रिया दिनुहोस्