Logo

उम्मेद्धवार तथा मतदाताहरुलाई विशेष सुरक्षा प्रत्याभुति गर्न प्रमुख निर्वाचन आयुक्तको विशेष आग्रह



‘मंसिर १० र २१ गतेको निर्वाचन अकाट्य छ, कसैले रोक्न सक्दैन्’
काठमाडौं, २५ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उम्मेद्धवार तथा आम मतदाताहरुलाई सरकारले तत्काल सुरक्षाको प्रत्याभुति गर्नुपर्ने माँग गरेका छन् । उनले भने,‘सरकारले उम्मेद्धवारदेखि मतदाताहरुसम्मको सुरक्षाको लागि विशेष सुरक्षाको व्यवस्था गर्नुपर्छ, उम्मेद्धवारलाई लक्षित गरेर जुन किसिमका घट्नाहरु भएका छन्, यसबारेमा आयोगको गम्भिर ध्यानाकार्षण भएको छ।’

उनले भने,‘हिजो र आज जुन किसिमले उम्मेद्धवारमाथि आक्रमण भएको छ, यो अत्यन्तै दुःखद् छ, सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गर्नुपर्छ भनेर हामीले आयोगको तर्फबाट सरकारको ध्यानाकार्षण गराएका छौं, अब त्यस्तो घट्ना नदोहोरियोस्।’ उनले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले मतदाता तथा उम्मेद्धवारको पूर्ण सुरक्षाको लागि आफूहरुले सरकारको ध्यानाकार्षण गरेपछि भोलि दिउँसो १ बजे उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक समेत बोलाईएको जानकारी दिए । उनले भने,‘यो घट्नामा हामी विशेष चिन्तित छौं, भोलि उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बस्दैछ, घट्नाको बारेमा हामीले भन्दापनि सुरक्षा निकायले जवाफ दिन्छ, उम्मेद्धवारदेखि मतदाताहरुसम्मको सुरक्षाको प्रत्याभुति हुनुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्ता घट्नालाई जोडेर मंसिर १० र २१ गते हुने निर्वाचन सर्ने भनेर प्रचार नगर्न समेत आग्रह गरे । उनले भने,‘मंसिर १० र २१ गतेको निर्वाचन अकाट्य छ, निर्वाचन नहुने भन्ने कुरामा कतै शंका नगर्नुहोस्, तर यस्तो घट्नाबाट सबै संयमित हुनुपर्छ।’

यादवले निर्वाचन नहुने भन्ने कुरामा आफूले नसोचेको समेत दाबी गरे । उनले थपे,‘पुसदेखि अहिलेसम्मको कुरा गर्नुहुन्छ भने मेरो निद्रापनि पातलो भएको छ, निर्वाचनको स्वामित्व सबैले लिईसकेका छौं, अब यो विसाउन मिल्दैन्।’

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सबैको भूमिका भएपनि विशेषगरि पत्रकारहरुको झनै ठूलो भूमिका हुने बताए । उनले भने,‘पत्रकारले निर्वाचनको वातावरण बनाउँदै आउनुभएको छ, उहाँहरुको भूमिकाप्रति म खुलेर प्रशंसा गर्न चाहन्छु, अब पत्रकारहरुको कलम निर्वाचनमुखी हुनुपर्छ।’

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन अन्र्तगर्त ७ गतेसम्म प्रचारप्रसारको समय रहेकोले निर्वाचन आयोगले पनि मतदान केन्द्रित कार्यक्रमहरु अघि बढाएको उनको भनाई थियो । उनले भने,‘मतदानसम्बन्धी सामाग्रीहरु सियोदेखि धागोसम्म जिल्लामा पुगिसकेको छ, मतपत्र पनि पुगिसकेको छ, मतदान केन्द्रका आधारमा पुर्याउने काम भैरहेको छ।’ त्यस्तै उनले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि आजसम्म १२ जिल्लाको मतपत्र छपाई काम सम्पन्न भएको समेत उनले जानकारी दिए । उनले भने,‘चाँडोभन्दा चाँडो हामी आवश्यक सामाग्री पूरा गर्छौं।’

त्यस्तै उनले आयोगले अहिले निर्वाचन तयारीको क्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षकहरुसँग पनि निरन्तर छलफल गरिरहेको जानकारी दिए । उनले भने,‘आयोगले अहिले विभिन्न समूह खासगरी बौद्धिक वर्गदेखि अन्यसम्म छलफल गरिरहेको छ, अहिले गृहिणीले घरबाट र किसानले खेतबाट निर्वाचन र उद्योगीले उद्योग व्यवसायबाट निर्वाचनबारे सोच्नुभएको छ, अब सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ।’

यादवले निर्वाचन अभियान लिएर रिपोर्टर्स क्लब नेपाल मेची–महाकाली चुनावी अभियानमा जान लागेकोमा खुशी व्यक्त गर्दै क्लबका सभापति ऋषि धमलालाई धन्यवाद समेत दिए । उनले भने,‘ऋषिजीले जुन अभियान सुरु गर्नुभएको छ, यो पूर्ण रुपमा सफल होस, यसलाई सफल बनाउनको लागि आयोग जस्तोसुकै सहयोग गर्नपनि तयार छ, स्थानीय तहकोे निर्वाचनपनि सफल रुपमा सम्पन्न भयो, यसको श्रेयपनि तपाईहरुलाई नै जान्छ।’

त्यस्तै उनले कर्मचारी खटनपटनमा निश्पक्षता कायम होस भनेर आयोगले गोलाप्रथाबाट गर्नेबारे प्रस्ताव गरेपनि अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने,‘निजामती कर्मचारी र स्थायी शिक्षकहरु हाम्रो जनशक्ती हुन्, निर्वाचनमा खटनपटन निश्पक्षता कायम होस् भनेर नै हामीले यस्तो प्रस्ताव गरेका हौं, तर निर्णय भएको छैन।’

बिना मत वा जनमत लोकतन्त्र नहुने भन्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गर्नको लागि सबैले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै यादवले भने,‘अहिले उम्मेद्धवारहरु प्रचारप्रसारमा जुटेका छन्, उहाँहरुले पनि अब प्रचारप्रसारलाई स्वच्छ बनाउनुपर्छ, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ, म यही आग्रह गर्न चाहन्छु।’

उनले निर्वाचन प्रचारप्रसार र आचारसंहिताको पूर्ण पालना जति धेरै भयो त्यति नै मतदाताहरुको सहभागितामा बढोत्तरी बृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने,‘निर्वाचन प्रचारप्रसार जति निश्पक्ष हुन्छ, त्यति नै मतदाताहरुको सहभागिता बढ्छ, दलप्रतिको श्रद्धामा बृद्धि हुन्छ।’ यादवले सबैले हातेमालो गरेर, भातृत्व कायम गरेर शान्तिपूर्ण वातावरणमा प्रचारप्रसारमा जुट्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले निर्वाचनाई सफल रुपमा सम्पन्न गर्नको लागि क्लबले देशव्यापी चुनावी अभियान सुरु गर्ने बताउँदै भोलिबाट झापाबाट चुनावी साक्षात्कार सुरु गर्ने जानकारी दिए ।

उनले भने,‘हामीले स्थानीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गर्नको लागि हामीले देशब्यापी अभियान चलाएका थियौं, अब पनि हामी मंसिर १० र २१ गतेका निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नको लागि भोलिबाट अभियान सुरु गर्दैछौं, आज क्लबको केन्द्रिय कार्यालयमा प्रमुख निर्वाचन आयुक्तज्यूसँग साक्षात्कार गर्यौं, यो हाम्रो लागि खुशीको विषय हो।’

 



प्रतिक्रिया दिनुहोस्