Logo

रोमी गौचनलाई प्रेमप्रसादको चेतावनी, रातको १२ बजे केके गर्नुभो भण्डाफोर गर्दिउँ ?



कात्तिक २६, काठमाण्डौ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङ जिल्लामा नेपाली काग्रेसका रोमी गौचन थकाली र वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि कुराकानी गरिएको छ ।
कुराकानीका क्रममा कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले विगतमा आफूले मुस्ताङ जिल्लाबासीलाई गरेको सेवा र विकास निर्माणका कामले नै यसपटक विजयी गराउने दाबी गरेका छन् । कठिनकालमा पनि प्रजातन्त्र जोगाउनका लागि आफूले गरेको संघर्षलाई जनताले सम्मान गर्ने विश्वास थकालीले लिएका छन् ।
विकास निर्माणका सवालमा मुस्ताङ जोमसोम कोरला सडक निर्माणलाई साकार बनाउने अभियानमा आफू रहेको थकालीले जानकारी दिए । नेपालमा भित्रिएका संचार सेवालाई दुर्गम जिल्लामध्ये मुस्ताङमा आफूले सबैभन्दा पहिला भित्र्याएको दाबी थकालीले गरेका छन् ।
मुस्ताङमा स्वस्थ चुनावी प्रतिस्पर्धा हुने विश्वास गर्दै थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन पारिवारिक सम्बन्धका व्यक्ति भएको जानकारी दिए ।
“हामी एकाघरका मामा छोरा र फुपूका छोरा हौँ । नाता आफ्नो ठाउँमा छ । हामी राजनीतिक लडाईमा छैनौँ । प्रतिस्पर्धामा छौँ ।” थकालीले भने ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा भाग लिएका कम्युनिष्ट पार्टीहरु गलत बाटोमा नजाने विश्वास गर्दै थकालीले मुस्ताङमा आफूहरुविच वैमनश्यता नहुने दाबी गरेका छन् ।
तर बाम गठबन्धनका उम्मेदवार तुलाचनले भने थकाली मिठो बोली बोल्नमा माहिर भएको भन्दै कटाक्ष गरेका छन् । २०७० सालको चुनावमा आफूले नेपाली कांग्रेसको विरुद्ध बागी उम्मेदवार दिएको स्मरण गराउँदै थकालीले भनेजस्तो स्वस्थ प्रतिस्पर्धा नहुने संकेत गरे ।
कोरला नाका निर्माणका सम्बन्धमा दुई नेताबिच आरोप प्रत्यारोप भएको छ । थकालीले आफ्नो पहलमा नाका बनेको भन्ने कुरालाई तुलाचनले खण्डन गरेपछि थकाली त्यसको प्रतिवादमा उत्रिए ।
थकालीले आफ्नो शीष्ट भाषालाई कमजोर नठान्न चेतावनी दिए । कसले विकासका काम ग¥यो भन्ने विषयमा गलत व्याख्या नगर्न आग्रह गर्दै थकालीले चेतावनी समेत दिए । यद्यपी निर्वाचनका बेला स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने स्मरण गराउँदै थकालीले तुलाचनलाई सचेत गराए ।
“तपाईले जित्नुभयो भने मेरो पनि तपाई सासंद हो । मैले जिते भने म पनि तपाईको सासंद हुँ । अहिले अनावश्यक कुरा नगरौँ ।” थकालीले भने ।
तुलाचनले भने ७० सालमा चुनाव जितेका थकालीले केही काम गर्न नसकेको आरोप लगाउँदै अबको चुनावमा आफूले जित्ने दाबी गरे ।
“७० सालमा निर्वाचन भएपछि यही वर्ष सम्पन्न स्थानीय निर्वाचनमा रातको १२ बजे विकासका योजना लिएर आउनुहुन्छ । अरुबेला केही गर्नुभएन ।” तुलाचनले आरोप लगाए ।
भूकम्पका बेला पनि थकालीले जनतालाई कुनै राहत दिन नसकेको अरोप तुलाचनको छ ।
“२०७० सालेदेखि आजसम्म के काम गर्नुभयो ? जनताले के पाए ?” तुलाचनले प्रश्न गरे ।
थकालीले भने अरुले केही गरेन भनेर आरोप लगाउने तुलाचनले आफूले गरेको एउटा काम देखाउन चुनौति दिए ।
बेनी जोमसोम सडक कालोपत्रेका लागि आफूले बजेट छुट्टयाएर काम गर्न लागेको थकालीले बताए ।

आफ्नो सम्पूर्ण जवानी नेपाली कांग्रेस भएर वितेको बताउँदै तुलाचनले जनतालाई सेवा गर्नबाट कांग्रेसले नै बञ्चित गराएकाले एमालेमा प्रवेश गरेको बताए ।

बागी उम्मेदवार दिएकाले तुलाचनलाई कांग्रेसले ५ वर्षका लागि निलम्बन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्