Logo

वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउँछ,चुनाव लगत्तै माओवादीसँग पार्टी एकता : इश्वर पोखरेल



काठमाण्डौ क्षेत्र नम्बर ५ मा मेरो जित सुनिश्चित छ

कात्तिक २६, काठमाण्डौ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले काठमाण्डौ क्षेत्र नम्बर ५ मा आफूले सहजै विजयी हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोही क्षेत्रमा पुगेर गरेको चुनाव विशेष अन्तरक्रियामा बोल्दै पोखरेलले विगतमा कहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चित भएको बताए ।

विगतमा यस क्षेत्रका लागि महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै पोखरेलले भने, “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । म कहिँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्ध स्थापित गरेको छु ।”

पार्टी अध्यक्षले अरु कुनै अनुकूल ठाउँबाट चुनाव लड्ने प्रस्ताव गरे पनि अस्विकार गर्दै आफूले काम गर्दै आएको क्षेत्र छोड्न नचाहेको पोखरेलले प्रष्ट्याए ।
एमाले–माओवादीबिचमा एकता हुने दाबी गर्दै पोखरेलले विचार मिलिसकेको बताए । विगतमा कार्यनीतिक बाटोमा मेल नभएको स्मरण गराउँदै अहिले दुई पार्टीबिचमा मुद्दाहरु मिलेको बताए ।

उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको बताउँदै पोखरेलले अरु पक्षले पनि यस्तै एकता गर्नुपर्नेमा जोड दिए । एमाले–माओवादीबिचको एकताको विरोध गर्नुभन्दा अरुले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवात हुने पोखरेलको भनाई छ ।
आगामी चुनावपछिको सरकारका विषयमा पोखरेलले सल्लाह र समझदारीका आधारमा प्रधानमन्त्रीको रुपमा अघि सारिने बताए । चुनाव जितेर आउने र योग्य व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने उनको भनाई छ ।

“हामी अन्दाज गर्न सक्छौँ प्रधानमन्त्री । तर औपचारिक रुपमा कुसैलाई पनि अघि सारेका छैनाँै ।”
चुनाल लगत्तै पार्टी एकता र सरकार गठन एकसाथ जाने पोखरेलको भनाई छ ।

केपी शर्मा ओली नै प्रधानमन्त्री बन्न सक्ने कुरालाई स्विकार गर्दै पोखरेलले योग्य र सक्षम व्यक्ति नै अबको प्रधानमन्त्री हुने बताए ।
केपी ओलीको सम्भावना कति छ भन्ने ऋषि धमलाको प्रश्नमा पोखरेलले भने, “सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ ।”
एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याएर स्वतन्त्रता हनन गर्ने आशंका गरिएको छ नि भन्ने ऋषि धमलाको प्रश्नमा पोखरेलले कडा खण्डन गरेका छन् ।

कम्युनिष्ट शासन आउँछ र जनताले रुन पनि पाउँदैनन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको पोखरेलले बताए ।
“शेरबहादुरजीहरुले के बुझ्नुपर्छ भने अहिलेको संविधान लेख्ने कुराको अगुवाई गर्ने कम्युनिष्टहरुनै हुन् । जनतालाई दिइएको अधिकारका विषयमा कम्युनिष्टहरुको भूमिका छ ।” पोखरेलले बताए ।

विरोधीको खण्डन गर्दा नेपाली कांग्रेसका नेताहरु हतास मनस्थितीमा पुगेको पोखरेलको तर्क छ ।
कांग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टहरुकै बलले संविधान जारी भएको पोखरेलको दाबी छ ।
संविधान कार्यान्वयनका विषयमा आफूहरु प्रतिवद्ध भएको पोखरेलले बताए ।

आगामी चुनावमा वाम गठबन्धनले शानदार बहुमत ल्याउने दाबी पोखरेलको छ । “दुई तिहाई बहुमत आउँछ । यो भनेको कुरा रिजल्ट आइसकेपछि बजाइदिनुहोला ।” पोखरेलले भने ।



प्रतिक्रिया दिनुहोस्