Logo

राजसंस्था र हिन्दुराष्ट्र होइन, विकासका एजेण्डा बोकेर झापा ३ मा ५० हजार मत ल्याएर जित्छु : राजेन्द्र लिङ्देन



कात्तिक २७, काठमाण्डौ । झापा क्षेत्र नम्बर तीनका उम्मेदवार राजेन्द्र लिङ्देनले राजसंस्थाको मुद्दा छोडेर विकासको मुद्दालाई अघि सारिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले लिङ्देनको चुनावी क्षेत्र झापा पुगेर गरेको चुनावी बहसका क्रममा राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा आफ्नो दलले राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डालाई भन्दा विकासका एजेण्डालाई प्राथमिकता दिएको बताए ।

यसपटकको चुनावमा जनताले राजीतिक मुद्दाभन्दा पनि विकासका एजेण्डा चाहेकाले आफ्नो दलले जनताको चाहनाअनुसारको एजेण्डा अघि सारेको बताए ।
जनताले विकासका एजेण्डालाई नै मतदान गर्ने उल्लेख गर्दै उम्मेदवार लिङ्देनले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्ने दाबी गरे । विगतमा चुनाव जित्दा सिटौलाले जनताको हित हुने गरी कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै लिङ्देनले यसपटकको चुनावमा आफूले कम्तिमा ५० हजार मत प्राप्त गर्ने बताए ।

अरुले २० वर्षमा गर्छु भनेको काम आफूले पाँच वर्षमा सम्पन्न गर्न सक्ने दाबी गर्दै उनले जनताको चाहनाअनुसार काम गर्न नसके पाँच वर्षपछि राजनीतिबाट सन्यास लिने घोषण गरे ।

आफूलाई वाम गठबन्धनको समर्थन रहेको दाबी गर्दै लिङ्देनले सिटौलाले गलत व्याख्या गरेर एमाले माओवादीको समर्थनको हल्ला फिजाँएको आरोप लगाए ।
लोकतान्त्रिक गठबन्धन गर्ने भनिए पनि सिटौलाले झापा क्षेत्र नम्ब ३ बाट उम्मेदवारी दिएकोप्रति लिङ्देनले आपत्ति जनाए ।

चुनावपछि वाम गठबन्धनमा राप्रपा पनि सहभागि भएर सरकार गठन हुने कुरालाई लिङ्देनले सम्भावनाको टोकरीमा राखे । “चुनावपछि छलफल गरेर राप्रपा सरकारमा सहभागि हुने वा नहुने भन्ने कुरा टुङ्गो लगाउँछौँ ।” लिङ्देनले भने ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अध्यक्षतामा झापा क्षेत्र नम्बर तीनका उम्मेदवार लिङ्देनसँग सोमबार दिउँसो चुनावी बहस भएको थियो ।



प्रतिक्रिया दिनुहोस्