Logo

तनहुँमा प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ वटै चुनाव कांग्रेसले जित्ने कोषाध्यक्ष रेशम गुरुङको स्थलगत रिपोर्ट



-कमलमणि पोख्रेल

२९ कात्तिक, तनहुँ । नेपाली राजनीतिमा सधैँजसो चर्चामा रहने जिल्ला तनहुँमा यसपटक कांग्रेसको बर्चश्व देखिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तथा पौडेलेको चुनावी क्षेत्रसमेत भएकाले चर्चा भइरहने तनहुँमा कांग्रेसले विगतकोभन्दा राम्रो जनमत बटुल्ने दाबी गरिएको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको तनहुँको १ बाट पौडेल र २ बाट पूर्व वनमन्त्री तथा पूर्व सासंद शंकर भण्डारी कांग्रेसको तर्फबाट चुनावी मैदानमा छन् । पौडेलका प्रतिस्पर्धी वाम गठबन्धन (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान हुन् ।

तनहुँ क्षेत्र नम्बर– १ कांग्रेसको बलियो क्षेत्र भएकाले वाम उम्मेदवारको जीत कठिन देखिएको छ । यसअघिको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका थिए भने २ नम्बर क्षेत्रबाट वरिष्ठ नेता पौडेल विजयी भएका थिए ।

पौडेलका प्रतिस्पर्धी वाम गठबन्धन (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान

यो क्षेत्रमा २ र १ गाभिएको छ। यस पटक वाम एकता भएकाले पल्ला भारी आफ्नो पक्षमा पार्ने दाउमा एमाले नेता श्रेष्ठ रहेका छन् । दोस्रो संविधानसभाको चुनावमा पौडेल र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।

वाम गठबन्धन एकसाथ भएपनि तनहुँको कुनै पनि क्षेत्रमा चुनाव जित्न नसक्ने दाबी तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले गरेका छन् । तनहुँको राजनीतिलाई नजिकबाट नियालेका गुरुङ भन्छन्, “तनहुँमा कांग्रेस एकतावद्ध भएर चुनावी अभियानमा छ । तनहुँका ६ वटै ठाउँमा कांग्रेसको जिति सुनिश्चित छ ।”

तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङ

आफै पनि प्रदेशसभाका लागि उम्मेदवारी दाबी गरेका गुरुङ पार्टीको निर्णयलाई स्विकार गरेर अहिले चुनावी प्रचार प्रसारमा सक्रिय छन् । अभियानको क्रममा तनहुँको सबैजसो ठाउँ पुगेका गुरुङले कांग्रेसको जित सुनिश्चित भएको दाबी गरेका हुन् ।

व्यास नगरपालिकाको सबै वडा, धरमपानी, देउराली, छिम्केश्वरी, आँबु खैरेनी, डुम्रे, बन्दिपुर, देवघाट लगायतका भेगका स्थलगत भ्रमण गरेर जनमत बुझेका गुरुङले दुइवटै प्रतिनिधिसभा र ४ वटै प्रदेशसभामा कांग्रेसका उम्मेदवारले जित्ने दाबी गरेका हुन् ।

क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा पुर्व वन मन्त्री शंकर भण्डारी एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलसँग लड्दै छन् । प्रदेश सभा ‘ख’ तर्फ एमालेका पुर्व मन्त्री किरण गुरुङ र कांग्रेसका तर्फबाट संसदिय दलका सचिव धुव्र वाग्ले प्रतिस्पर्धामा छन् । यी दुवै चर्चित अनुहार हुन् । दुवै आफ्नो पक्षमा मत पार्नलाई जनताका घरघर पुगेका छन् ।

त्यस्तै क्षेत्र २ को क प्रदेश सभातर्फ वामगठबन्धनबाट विना विभागिय मन्त्री आशा कोइराला र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलबीच कडा टक्कर पर्ने देखिएको छ । विना विभागिय मन्त्री कोइराला र केन्द्रीय सदस्य पौडेल उक्त क्षेत्रमा दुवै लोकप्रिय मानिन्छन् ।

क्षेत्र नम्बर– १ मा प्रदेशतर्पmको ‘क’ केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल ‘ख’बाट उम्मेदवार बनेका छन् ।
वाम गठबन्धनले क्षेत्र नं.– १ को ‘ख’मा माओवादी नेता हरिबहादुर चुमानलाई चुनावी मैदानमा उतारेको छ ।



प्रतिक्रिया दिनुहोस्