Logo

वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ : सुवास नेम्वाङ



२९ कात्तिक, काठमाण्डौ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनको बहुमत आउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । विगतमा वामपन्थीले राम्रोसँग सरकार संचालन गर्न नसकेकाले देश विकास हुन नसकेकाले यसपटक जनताले वामपन्थीलाई बहुमत प्रदान गर्ने दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा बोल्दै नेता नेम्वाङले कांग्रेसका नेताहरु गैर जिम्मेवार बनेर साम्यवादको हल्ला फैल्याएको आरोप लगाए । लोकतान्त्रिक संविधान अनुसार नै वाम गठबन्धनले सरकार चलाउने स्पष्ट पार्दै नेता नेम्वाङले जनतालाई भ्रममा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गैर जिम्मेवार बनेर संविधान विपरित बोलेको उनलको आरोप छ । विगतमा धेरै सरकार परिवर्तन हुने गरेकाले अब वाम गठबन्धनको स्थिर सरकार जनताले देख्न चाहेको नेम्वाङको जिकिर छ । “यो देशमा स्थिरता र समृद्धि ल्याउनका लागि जनतामा लहर आएको छ ।” नेम्वाङले भने ।

सरकारले मन्त्रीपरिषद विस्तार र कर्मचारी सरुवा बढुवा गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको आरोप नेम्वाङको छ ।
एमाले–माओवादी मिल्दैमा कांग्रेसले अनावश्यक हल्ला फैल्याउनु जरुरी नरहेको नेम्वाङले बताए । “कांग्रेसले जुनसुकै दलसँग गठबन्धन गर्दा पवित्र हुने, हामी मिल्दा कसरी अपवित्र ? यो देशमा दलहरु मिल्न पाइन्छ कि पाइदैन ।” उनले प्रश्न गरे ।

परिपाटी र व्यवस्था राम्रो बनाउनका लागि वामपन्थीहरु एकजुट भएको बताउँदै नेम्वाङले जनताले जसलाई आर्शिवाद दिन्छन् उसैले सरकार चलाउने र पराजित हुने भलदमी भएर बस्नुपर्ने बताए ।

चुनावपछि कसलाई प्रधानमन्त्री बनाउने हो भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा नेम्वाङले अहिले व्यक्तिभन्दा पनि राम्रो व्यवस्था स्थापित गर्न लागेको बताए ।
सरकारले चुनाव सार्ने षडयन्त्र गरे पनि आफूहरुको दबाबले चुनाव समयमा नै हुन लागेको नेम्वाङको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्