Logo

राष्ट्रपति भण्डारीबाट शेख जायद मस्जिदको भ्रमण



विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली :अबुधावी, २९ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्नुभयो ।

राष्ट्रपति भण्डारी ग्रान्ड मस्क पुग्नुहुँदा त्यहाँका महानिर्देशक शेख युसिफ अल ओबाइदीले उहाँलाई स्वागत गर्नुभयो ।

महानिर्देशक अल ओबाइदी तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई ग्रान्ड मस्कका विभिन्न पक्षका विषयमा जानकारी दिनुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले ग्रान्ड मस्कमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई उक्त केन्द्रका तर्फबाट मस्जिदको इतिहास तथा कलासम्बन्धी पुस्तक उपहारस्वरुप दिइएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित हुनुहुन्थ्यो ।

शेख जायद ग्रान्ड मस्कलाई यस मुलुकमा प्रमुख प्रार्थनास्थलको रूपमा लिइन्छ । यसको डिजाइन सिरियाली वास्तुविद् युसेफ अब्देल्कीले गर्नुभएको हो ।

युएईका पूर्व राष्ट्रप्रमुख शेख जायद बिन सुल्तान अल नेह्यानले यस परियोजनाको आरम्भ गर्नुभएको हो । उहाँले वास्तुकलाको ऐतिहासिक तथा आधुनिक मूल्यका साथमा इस्लामिक विश्वको सांस्कृतिक विविधतालाई एकीकृत गर्न यो मस्जिदको स्थापना गर्न चाहनुभएको बताइन्छ ।

यसै मस्जिद नजिकैको भागमा उहाँको समाधिस्थल छ । यो मस्जिद सन् १९९६ देखि २००७ बीच निर्माण भएको हो र यो संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो मस्जिद पनि हो । यसको भवनले १२ हेक्टर भूमि ढाकेको अनुमान गरिएको छ र यसका आफ्नै बाह्य संरचना र गाडी बिसौनी छन् । यस मस्जिदले शैक्षिक, सांस्कृतिक तथा भ्रमण आदानप्रदान पनि गर्छ ।

यस मस्जिदमा रहेको पुस्तकालयमा २०० वर्षभन्दा अगाडिदेखिका विज्ञान, सभ्यता, हस्तलिपि, कला तथा सिक्काका दुर्लभ प्रकाशन उपलब्ध रहेको बताइन्छ । यहाँ अरबी, फ्रेन्च, इटाली, स्पेनी, जर्मन तथा कोरियाली भाषाका सामग्री छन् ।

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारीका साथै राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि पनि उपस्थित हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्