Logo

चुनाबपछि संविधान संशोधन हुन्छ, ओली प्रधानमन्त्री बन्नुहुन्छ : लालबाबु पण्डित



‘पार्टी एकता हुनेमा शंका नगर्नुहोस्, माधव नेपाल राष्ट्रपति बन्न सक्नुहुन्छ’
विराटनगर, २९ कार्तिक । नेकपा एमालेका नेता एवम् मोरङ् क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले आफू चार हजार ५ सय मतले विजयी हुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पण्डितले यस्तो दाबी गरेका हुन् । उनले भने,‘म मैैदानमा आउनुभन्दा ९ महिना अघि नै भनेको छु कि म चुनाव जित्छु, किनकी कांग्रेसका उम्मेद्धवार शेखर कोइरालाले विराटनगरलाई महानगर हुन नदिन प्रपञ्च रचेको कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ, त्यतिमात्रै नभए विराटनगरलाई प्रदेशको राजधानी बनाउन नदिने षड्यन्त्रपनि उहाँले नै गर्नुभएको हो।’

उनले आफू विराटनगरलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै बोल्दै आएको उल्लेख गर्दै यही विषयलाई लिएर चुनावी मैदानमा भएको दाबी गरे । उनले भने,‘ऋषिजी तपाईसँग शेखरजीले सय प्रतिशत मतले जित्छु भन्नुभएछ, तर म २०० प्रतिशत विश्वस्त छुु, म चुनाव जित्छु, घोषणा हुन मात्रै बाँकी छ ।’

उनले मोरङ मनमहोन अधिकारी, मदन भण्डारी, भरतमोहन अधिकारी र लालबाबु पण्डितको कार्यथलो भएको बताउँदै यहाँ कुनै कोइरालाको केही चल्नेवाला नभएको समेत जिकिर गरे । उनले थपे,‘म त अहिले जित्नको लागि मैदानमा छु, यो क्षेत्रका जनताले मलाई रुचाउनुभएको छ, मलाई जिताउनको लागि उहाँहरु आँतुर हुनुहुन्छ।’

उनले उक्त क्षेत्रमा शेखर कोइरालाको विपक्षमा जनमत रहेको समेत दाबी गरे । ‘पण्डित यही भुमिमा छ, यो पण्डितले जनताका घर–घरमा राजनीति पुर्याउने गरेको छ, विराटनगरमात्रै होईन, मेरो बारेमा देशका जनता सबैलाई थाहा छ, म त टुपुक्क विराटनगर आएको होईन नि, म त यही क्षेत्रका जनताको सेवामा निरन्तर लागिपरिरहेको छु’–उनले भने।

आफू कहिल्यैपनि मधेशको विरोधी नभएको उनको जिकिर थियो । उनले थपे,‘म त भन्छु मधेशी जनता कहिल्यै पनि देश र जनताको विरोधी थिएनन्, तर पनि मधेशलाई जसले टुक्रा बनाएर अलग बनाउन चाहेका थिए, हो म तीनीहरुको पक्षमा थिईंन, तर म मधेशको समृद्धिको पक्षमा जहिल्यैपनि छु, लालबाबु पण्डितले जहिले जहिले अवसर पाएको छ, देश र जनताको लागि पहिलो नम्बरमा काम गरेको छु।’

उनले विराटनगरमा एमालेका कोइराला आफूसँगै रहेको बताउँदै भने,‘धरहराको टुप्पोमा आफूलाई ठान्नेले जनताको दुख बुझ्दैन, म साईकल चढेर नै जनताको घरघरमा छु, अहिले त धराहर त भत्कियो, मैले भत्काईसकेको छु, कोइराला परिवारको विरासत भत्किन्छ । भत्किन्छ ।’ आफू चुनाव कुनैपनि हालतमा नहार्ने उनको जिकिर थियो । उनले थपे,‘म त चुनाव हार्दैहार्दिन । मैले चुनाव हार्नु भनेको त आकाश खस्नु सरह हो, त्यसैले यहाँ आकाश खस्दैखस्दैन् । मैले हार्छु भन्ने सोच राखेकै छैन । म त जनताको विश्वासमा छु, जनताले मनैदेखि मलाई रुचाउनुभएको छ।’ उनले मोरङको मात्रै नभएर हरेक ठाउँबाट आफूलाई सहयोग र समर्थन रहेको स्पष्ट पारे ।

मोरङमा शेखर कोइरालाले विकास गरे कि गरेनन भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताए । उनले थपे,‘विराटनगरलाई महानगरपालिका बनाउने कुरामा एक नम्बरको बाधक उहाँ (शेखरजी) हुनुभयो । त्यतिमात्रै होईन, प्रदेशको राजधानी बनाउने कुरामा कहाँ बोल्नुभयो त ? उहाँले त लगातार ९ वर्ष जित्नुभयो, कुन ठाउँमा के विकास गर्नुभयो, लौ देखाउनुहोस् त ? बरु अहिले धेरैको ठाउँमा पैसा पुर्याउनुभयो होला, भोट किन्नको लागि नोट पुर्याउने काम गर्दैहुनुहन्छ होला, तर जनताले यो कुरा पनि राम्रोसँग बुझेका छन्।’

उनले शेखर कोइरालाले आफलाई नचिनेको भनेर एक कार्यक्रममा भाषणा गरेको विषयमा टिप्पणी गर्दै भने,‘लालबाबु पण्डितलाई नचिन्ने, जनताको राजनीति कसरी गर्छन्। सँगै संसदमा काम गर्ने अनि नचिन्ने ? यो त जनतामाथिको अपमान हो, लालबाबुलाई नचिन्नेले कसरी राजनीति गर्ने ?’

कोइरालाले अबको कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेद्धवार आफू नै भनेर हिँडिेका छन् नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा पण्डितले भने,‘तर उहाँलाई जनता र कांग्रेसले सभापति बनाउँदैन्न, शेखर, सशांक र सुजाता को सभापति ? यो त मनको लड्डु घिउसँग खानुमात्रै हो, कोइराला परिवारको उत्तराधिकारी आफू भन्ने अनि सशांक र सुजाता कोइराला चाहीँ को हुन ?’

उनले आफू विजयी भएपछि यहाँको क्षेत्रका विकास गरेर देखाउने बताउँदै भने,‘म देश र जनताको शिर निहुर्याउने काम कहिल्यै गर्दिन् । म त हेर्नुहोस्, ६ नम्बर क्षेत्रका जनताको प्रतिनिधि भैसके, अब विजयी घोषणा गर्नमात्रै बाँकी छ।’

उनले अबको निर्वाचनमा आफूहरुको लक्ष्य दुई तिहाई नै भएकोले सरकार बनाउनको लागि स्पष्ट बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे । उनले थपे,‘दुई तिहाई ल्याउने संभव छ, हामी त दुई तिहाईको लागि हिँडेका हौं । जनताको चाहना अनुसार संविधान संशोधन गर्छों । संविधान ढुँगामा लेखिएको शिलानास होईन, तर हामी संविधानलाई समृद्ध बनाउँछौं । वामपन्थी गठबन्धनको नेतृत्वमा संविधान संशोधन हुन्छ ।’

चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनको भनाई थियो । उनले थपे,‘माधव नेपालपनि महत्वपूर्ण जिम्मेवारीमा आउनुहुन्छ। राष्ट्रपति पनि बन्न सक्नुहुन्छ । देशलाई सिँग्गो गठबन्धनले डोर्याउँछ ।’

एमाले–माओवादी केन्द्रवीचको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताउँदै थपे,‘यसमा अविश्वास नगर्नुहोला । पार्टी एकता हुन्छ।’ यद्धपी उनले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउनेबारे दुई पार्टीहरुवीच कुनै सहमति नभएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्