Logo

उपेन्द्र यादवले कांग्रेसलाई भने, “समय अझै बाँकी छ, चुनावी तालमेल गरौँ”



१ मंसिर, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा–फोरमसँग तालमेल गर्ने हो भने कांग्रेसलाई नै फाइदा हुने बताए । मधेशका कांग्रेस निकै कमजोर भइसकेको दाबी गर्दै यादवले कांग्रेसले वुद्धि पु¥याएर तालमेल गर्न तयार भयो भने अझै पनि उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न मिल्ने बताए ।

कांग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो । यादवको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका सकलदेव सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए । तर, ढिला भएका कारण फिर्ता हुन सकेको थिएन ।
यादवले सप्तरी क्षेत्र नम्बर २ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । आफ्ना प्रतिस्पर्धीहरु गैरराजनीतिक व्यक्ति भएको तर्क गर्दै यादवले बोल्नसमेत नजान्ने नेताले आफूलाई हराउन नसक्ने बताए ।

यता उपेन्द्रका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार उमेश यादवले भने उपेन्द्रले विगतको जनताको हितमा कुनै पनि काम नगरेकाले यसपटक जनताले आफूलाई जिताउने दाबी गरेका छन् । आफूले विकास निर्माणका धेरै काम गरेको बताउँदै उमेशले चुनाव जितेपछि मधेशी जनताको हित हुने गरी संविधान संशोधनका लागि लडाई गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो पार्टी एमाले संविधान संशोधनका लागि तयार नभए पनि आफू अघि बढ्ने उमेशको भनाई छ ।

यस्तै अर्का उम्मेदवार जयप्रकाश ठाकुरले पनि त्यस क्षेत्रबाट आफूले चुनाव जित्ने दाबी गरेका छन् । अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारीलाई स्वतन्त्र मानिएको छ ।
मधेशमा राजपा–फोरमको गठबन्धनले बहुमत ल्याउने दाबी यादवले गरेका छन् । दुई दल मिलेर चुनाव जित्ने र प्रदेशमा सरकार गठन गर्ने जिकिर यादवको छ । आफूहरुको मधेशमा सरकार निर्माण गर्ने अभियानलाई कसैले रोक्न नसक्ने यादवको भनाई छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका यादवले अब मधेशमा सत्ताको साँचो आफूहरुको हातमा आउने दाबी गरे ।
चुनावमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैको बहुमत आउन नसक्ने यादवको तर्क छ ।
देउवा नेतृत्वको सरकार कमजोर भएको आरोपसमेत यादवले लगाएका छन् ।
फरक प्रसंगमा यादवले पत्रकार ऋषि धमलाले मधेशी जनताको हितमा मुद्दा उठाएको भन्दै प्रशंसा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्