Logo

सरकारले नै आचारसंहिता उल्लंघन गरेको छ : नेता खनाल



काठमाडौँ, १ मंसिर : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले विभिन्न स्थानमा उम्मेदवारमाथि हमला गर्नेलाई कारबाही नभएको, एक रङमा मात्र निर्वाचन घोषणापत्र जारी गर्नुपर्र्नेमा नेपाली काँग्रेसले बहुरङमा घोषणापत्र प्रकाशन गरेको र सरकारले चार÷पाँच सय प्रहरी अधिकृतको सरुवा गर्नाले आचारसंहिताको गम्भीर उल्लंघन भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भइरहेको छ, यसको परिणाम नराम्रो हुन सक्नेछ । निर्वाचन आयोगले यस्ता काम तत्काल रोक्ने काम गरोस् ।”

उहाँले वाम गठबन्धनले जितेमा मुलुकमा तानाशाही आउँछ भनिनु गलत भएको हो भन्दै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नै शुरुमा काँग्रेसमा आबद्ध भए पनि त्यो पार्टीमा अलोकतान्त्रिक व्यवहार देखेर उहाँले कम्युनिष्ट पार्टी खोल्नुभएको स्मरण गराउनुभयो ।

आफूहरु पूँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा रहेको जनाउँदै नेता खनालले कम्युनिष्ट अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गर्नुभयो । “वास्तवमा काँग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाह आउँछ, वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तीव्रता आउनेछ ।”

उहाँले एमाले र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचनपछि पार्टी एकता हुनेमा कुनै प्रश्न नरहेको बताउँदै अहिले नै एकै निर्वाचन चिह्न हुन सकेको भएमा राम्रो हुन्थ्यो भन्ने आवाज जनस्तरबाट आएको जनाउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमाललगायत उपस्थित हुनुहुन्थ्यो । (रासस)



प्रतिक्रिया दिनुहोस्