Logo

माओवादी नेता महरा र पुनलाई लक्षित गरी बम प्रहार



रोल्पा, १ मंसिर (रासस) : रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर नजिकैको जंगलमा आज बम प्रहार भएको छ ।

दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा हुने वाम गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

बम प्रहारबाट मानवीय क्षति भने भएको छैन । घटनास्थल नेपाली सेनाको व्यारेकबाट करिब तीन किमी टाढा छ । पुनसहितको चुनावको अभियानमा लक्षित गरी आक्रमण गरिएको यो तेस्रोपटक हो । गाडीलाई लक्षित गरी फालेको बम सडकमा विष्फोट भएको थियो भने नपड्किएको अर्को एउटा बम भेटिएको प्रहरी जनाएको छ ।

घटनाको भने कसैले जिम्मा लिएको छैन । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सिँचाइ राज्यमन्त्री एवं नेपाली काँग्रेस रोल्पाका प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बिहीबार सुतली बम विष्फोट गराइएको थियो ।

प्रदेशसभाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

वाम गठबन्धनले आज रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभामा सिंह राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अञ्चल प्रमुखसमेत रहेका सिंहले प्रदेशसभाको उम्मेदवारीसमेत त्यागेर वाम गठबन्धनलाई सहयोग गर्ने बताउनुभएको छ ।

नेता सिंहलाई उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले अबिर लगाई पार्टी प्रवेश गराउनुभएको थियो ।

पशुपति शमशेर जवरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट प्रदेशसभा (क) बाट उम्मेदवारी दिनुभएको थियो । सो पार्टीबाट प्रतिनिधिसभामा तीलबहादुर ओली र प्रदेशसभा (ख) मा हरिकला ब बुढाथोकीको उम्मेदवारी रहेको छ ।
–––



प्रतिक्रिया दिनुहोस्