Logo

बाबुरामलाई जिताउन बिनोद चौधरी लिएर गोरखा पुगे कांग्रेस शीर्ष नेताहरु



गोरखा, २ मंसिर । नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसका नेताहरू बाबुराम भट्टराईका लागि भोट माग्न आजबाट गोरखा पुगेका छन् । शनिबार गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्तिले संयुक्त चुनावी सभा सम्पन्न गरेका छन् ।

शनिबारको सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । उनीसँग केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पालुङटार पुगेका थिए ।
त्यस्तै आजै बाबुरामको लागि भोट माँग्न कांग्रेस महामन्त्री डा. सशांक कोइराला र भर्खरै कांग्रेसमा प्रवेश गरेका खर्बपती डा. विनोद चौधरी पनि गोरखा पुगेका थिए । उनीहरुले समेत बाबुराम विकासप्रेमी नेता भएको भन्दै उनलाई विजयी गराउन गोरखाली जनतासँग अपिल गरेका थिए ।

सम्बोधन क्रममा चौधरीले बाबुरामसँग विकासबारे आफूले धेरै चोटी लामो बहस गरेको भन्दै आफूले उनलाई विकासप्रेमी नेताको रुपमा पाएको समेत बताएका थिए । उनले सम्बोधनको क्रममा भने,‘बाबुराम खासगरी विकासप्रेमी नेता हुन, उनलाई मैले धेरै नजिकबाट चिनेको छु, उनको विकासप्रेमी कामबाट म निकै प्रभावित छु, उनलाई मुलुक समृद्धिको लागि जनताले विजयी गराएर पठाउनुपर्छ।’

त्यस्तै काठमाडौं ४ बाट उम्मेदवार बनेका अर्का नेता गगन थापा पनि बाबुरामको क्षेत्रमा भोट माग्न जाने भएका छन्। उनी मंसिर ५ गते गोरखा जान लागेका छन्।
उनले गोरखा १ का कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठ र २ का उम्मेदवार भट्टराईका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। गोरखा २ मा कांग्रेसले भट्टराईलाई सघाएको छ भने १ मा नयाँशक्तिले श्रेष्ठलाई समर्थन गरेको छ । गोरखापछि थापा भोजपुर र नुवाकोटमा कांग्रेस उम्मेदवारका पक्षमा भोट माग्न जाने तय भएको छ।



प्रतिक्रिया दिनुहोस्