Logo

गुल्मीमा चन्द्र र प्रदिपवीच कडा टक्कर : ज्ञवालीलाई माछा पछारेझैं पछारिदिने भण्डारीको दाबी



काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेद्वार चन्द्र भण्डारीले संविधान बनाएर ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि भएको बताउँदै आएका छन् ।

भण्डारीले नेपालमा आजसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेका कांग्रेसले सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई वर्तमान संविधानमा समेटिएको बताउदै अब राजनीतिक परिवर्तनको मिसन पूरा भएकोले कांग्रेस अब आर्थिक परिर्वतनमा लाग्ने उद्धघोष गरेका छन् ।

अहिले गुल्मी क्षेत्र नम्बर एकमा रोचक प्रतिष्पर्धा हुँदैछ । गुल्मी एकमा लोकतान्त्रिक र वाम गठबन्धनवीच कडा प्रतिष्पर्धा हुँदैछ । लोकतान्त्रिक गठबन्धनबाट चन्द्र भण्डारी चुनावी मैदानमा छन् भने वाम गठबन्धनबाट प्रदिप ज्ञवाली । दुवै नेता राष्ट्रिय राजनीतिका चर्चित अनुहार हुन् । तर उनीहरुवीच पछिल्लो समय संसदमा को पुग्ने भनेर कडा प्रतिष्पर्धा हुँदै आएको छ। दुवै नेताले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । तर जीत कसको पोल्टामा पर्छ भन्ने अनुमान गर्न सकिने अवस्थामा छैन ।

कांग्रेस नेता भण्डारीले गुल्मीको विकासमा आफूले धेरै योगदान पुर्याएको भन्दै अबको निर्वाचनमा आफूलाई नै जनताले विजयी गराउने दाबी गरेका छन् । उनले आफूले धेरै विकास गरेको दाबी गरे । उनले भन्ने गरेका छन्,‘मेरो विकल्प छैन, संसद भत्ता एक रुपैयाँ पनि लिएको छैन, सबै पैसा मैले यहाँको शिक्षा क्षेत्रको किासको लागि खर्च गरेको छु, यो कुरा यहाँका जनतालाई थाहा छ, अब प्रदिपले होईन म विकास गर्छु, त्यसैले म चुनाव भारी मतले जित्छु ।’

तर वाम गठबन्धनका संयुक्त उम्मेद्धवार रहेका एमाले सचिव प्रदिप ज्ञवालीले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले हरेक सभामा भन्ने गरेका छन्,‘गुल्मी एकमा चन्द्रजीले होईन, म विकासको काम गर्छु, कांग्रेसको नेतृत्वमा सरकार बन्यो तर खोई त विकास कहाँ भयो त ?, अब विकासको लहर म ल्याउँछु, म यहाँको विकासको लागि दिनरात नभनी काम गर्छु।’

यता भण्डारीले तीन करोड नेपालीलाई अधिकारसम्पन्न बनाउने कांग्रेसको लक्ष्य भएको बताउँदै भन्न थालेका छन्,‘ ३ करोड नेपालीलाई अधिकारसम्पन्न गराउने कांग्रेसका लागि विकास निर्माण र समृद्धिको लक्ष्य हासिल गर्न कुनै समस्या छैन ।’

उनले जङ्गलमा बसेर बम पड्काउने, माओवादीका नेतालाई स्वर्गीय गिरिजाप्रसाद कोइरालाले खोजेर भारतबाट रातारात बालुवाटार भित्राएर शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति र स्थायित्व कायम गर्दा ने.क. पा. एमालेले रमिता हेरेर बसेको आरोप समेत लगाएका छन्। उनले पहिलो संविधानसभाबाट चार चार जना कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदा पनि बन्न नसकेको संविधान जङ्गली हात्ती जस्तो माओवादी र साँढे जस्तो एमालेका बीचमा नेपाली काँग्रेसको कुशल नेतृत्वका कारण सविंधान निर्माण भएर जारी भएको पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्