Logo

स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध : गच्छदार



विराटनगर, ६ मंसिर (रासस) : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार सुरक्षाका चारवटै संयन्त्रको प्रयोग गरी तोकिएको समयमै स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा निकायलाई सक्रिय बनाई सुरक्षित, स्वच्छ, भयरहित, निश्पक्ष एवं शान्तिपूर्ण वातावरण मंसिर १० र २१ गते हुने निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका गच्छदारले मुलकको केही क्षेत्रमा भएको निर्वाचन विरोधी गतिविधिका कारण निर्वाचनको मिति नसर्ने बताउँदै वर्तमान सरकार शान्तिसुरक्षा कायम राखी स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्न दृढ रहेको छ भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले शान्ति सुरक्षालाई ध्यानमा राखी सरकारले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नु सामान्य हो भन्दै अतिआवश्यक सेवामा रहेका कर्मचारीहरुलाई सरकारले चाहेको बखत सरुवा गर्न सक्ने बताउनुभयो ।

आगामी २१ गते दोस्रो चरणको निर्वाचन हुनु अघि नै जिल्लामा काँग्रेस र मधेशवादी दलबीच सिटको तालमेल र सहकार्यको लागिक सहमति हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्