Logo

संविधान कार्यान्वयन मूल एजेण्डा : नेता सिटौला



भद्रपुर, ७ मंसिर (रासस) : नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले वर्तमान नेपालको संविधान कार्यान्वयन गराउन आफू कटिबद्ध रहेको बताउनुभएको छ ।

डेमोक्रयाटिक्स लयर्स एशोसिएशन नेपालको २७औँ स्थापना दिवसका अवसरमा एशोसिएशन झापाद्वारा चन्द्रगढीमा आयोजित ‘संविधान कार्यान्वयन आजको अवश्यकता’ विषयक एकदिने छलफल कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेता सिटौलाले सो धारणा राख्नुभएको हो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वसहित आफ्नै अगुवाइमा निर्माण गरिएको संविधानले जनताका मौलिक हक अधिकारलाई सुनिश्चित गरेकाले अब सम्पन्न हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपश्चात् संविधान कार्यान्वयन हुँदै जाने विचार व्यक्त गर्नुभयो ।

नेता सिटौलाले संघीयता, लोकतन्त्र र गणतन्त्र स्थापना गर्न परिवर्तन विरोधीलाई जनताद्वारा तिरस्कार गर्ने वातावरण बनाउने दायित्व अब कानून व्यावसायीको जिम्मामा आएको भन्दै संविधान कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षसमेत सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

‘डिएलएको आह्वान संविधानको कार्यान्वयन’ भन्ने मूल नारा रहेको छलफल कार्यक्रममा वरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला, प्रगतिशील पेशागत कानून व्यवसायी एशोसिएशन झापाका अध्यक्ष टंक दंगाल, प्राध्यापक संघ झापाका अध्यक्ष नेत्र नेपाल, प्राध्यापक डा पृथ्वीविक्रम राई ,नेपाल निजामती कर्मचारी युनियन संघ झापाका अध्यक्ष कवीन्द्रविक्रम नेम्वाङ लगायतले संविधान कार्यान्वयनका लागि आम नागरिक एवं विभिन्न संघसंस्थाको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रम एशोसिएशन झापाकी अध्यक्ष यज्ञलक्ष्मी चौलागार्इंको अध्यक्षता तथा बार एशोेसिएशन झापाका अध्यक्ष सुरज खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्