Logo

निर्धक्क भएर मतदान गरौँ : उपप्रधानमन्त्री थापा



विराटनगर, १० मंसिर (रासस) : उपप्रधानमन्त्री कमल थापाले सरकारले चुनावको निम्ति सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएकाले निर्धक्क भएर मतदान गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले संविधान जारी भएपछि संसद्को पहिलो निर्वाचन हुन गइरहेकाले देशको अवस्थालाई समीक्षा गरी मतदान गर्न आग्रह गर्नुभयो ।

राप्रपाका केन्द्रीय अध्यक्षसमेत रहनुभएका उहाँले नेपाली काँग्रेस, राप्रपालगायत प्रजातन्त्रवादी दलको लोकतान्त्रिक गठबन्धन रहेको प्रसंग उल्लेख गर्दै मोरङको छ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभामा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आफ्ना पार्टीलगायत मतदातासँग आग्रह गर्नुभयो ।

‘महेन्द्रको राष्ट्रवाद र बिपीको मेलमिलाप’ को नीतिलाई राप्रपा पार्टीले अंगीकार गरेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “मुलुकको एकता, अखण्डतालाई जीवन्त राख्न हिमाल, पहाड र तराईका जनताबीच सम्बन्धलाई प्रगाढ बनाउने नीति राप्रपा र काँग्रेसको साझा प्रतिबद्धता रहेको छ ।”

जनताको चाहनाअनुरुप आर्थिक विकास नभएसम्म राजनीतिक परिवर्तनले स्थायित्व प्रदान गर्न नसक्ने उल्लेख गर्दै उहाँले राप्रपा र नेपाली काँग्रेसले आर्थिक विकास र समृद्धिलाई मुख्य एजेण्डाको रुपमा राखेको स्पष्ट पार्नुभयो ।

उहाँले लोकतान्त्रिक गठबन्धन कुनै दल र नेताका विरुद्धको नरहेको भन्दै उहाँले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय एकता, अखण्डता र मुलुकको आर्थिक विकासको लागि भएको जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६का उम्मेदवार डा शेखर कोइरालाले यस निर्वाचनको माध्यमबाट आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायतको मागलाई सम्बोधन गर्न संविधानमा संशोधन गरिने उल्लेख गर्नुभयो ।

उहाँले वाम गठबन्धनले एकदलीय कम्युनिष्ट व्यवस्था ल्याउन खोजेको भन्दै अब नेपाली जनताले निरङ्कुशता स्वीकार नगर्ने बताउनुभयो । प्रजातान्त्रिक गठबन्धनको आवश्यकतामाथि प्रकाश पार्दै उहाँले अब मुलुकमा प्रजातान्त्रिक गठबन्धनको सरकार निर्माण हुने र मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो ।
–––



प्रतिक्रिया दिनुहोस्