Logo

डा आरजु राणा देउवाद्वारा प्रतिबद्धतापत्र सार्वजनिक



धनगढी, १० मंसिर : कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा देउवाले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रमा डा राणाले संविधान कार्यान्वयन र देशको विकास एवं समृद्धिमा योगदान दिन काँग्रेसले आफूलाई उम्मेदवार बनाएको उल्लेख गर्नुभएको छ ।

प्रतिबद्धतापत्रमा कैलाली निर्वाचन क्षेत्र नं ५ मा कटान रोकथामका लागि तटबन्धनका कार्यक्रम गर्ने, गौरीफंटा नाकाको स्तरोन्नति, पोलिटेक्निक कलेज र रासायनिक मलखाद कारखानाको स्थापना, सेती अञ्चल अस्पताल धनगढीको स्तरोन्नति गर्दै ३०० श्यया बनाउने, धनगढी विमानस्थलको स्तरोन्नतिलगायतका पूर्वाधारका काम गर्ने उल्लेख गर्नुभयो ।

यसैगरी राना थरु समुदायलाई थारु आयोगमार्फत भिन्दै सूचीकृत गराउने, पछाडि पारिएका समुदायका साथै समस्यामा परेका कमलरी, मुक्तकमैया, सुकुम्वासीको जीवनस्तर उकास्न, गेटाको मेडिकल कलेजको निर्माणलाई तीव्रता दिनेलगायतका प्रतिबद्धतासमेत गरिएको छ ।

माओवादी नेता राना थारु काँग्रेसमा प्रवेश

कार्यक्रमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामसमझ रानाथारु काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार रहनुभएका रानाथारु प्रमुखमा विजयी काँग्रेसका उम्मेदवारको निकटतम प्रतिद्वन्द्वी रहनुभएको थियो ।

उहाँलाई काँग्रेस नेत्री डा आरजु राणा देउवाले पार्टी प्रवेश गराउनुभयो । पार्टी प्रवेशपछि राना थारुले कैलाली कञ्चनपुर जिल्लामा उपेक्षित र पछाडि परेको राना थारु समुदायको हकहितका साथै देशको विकास र समृद्धि काँग्रेसबाट मात्र सम्भव हुने देखेर आफूसहितका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको जानकारी दिनुभएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्